• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बन्द अवधीको कर तथा व्याज मिनाहा गर्न सप्तरी मोर्चाको माग

बन्द अवधीको कर तथा व्याज मिनाहा गर्न सप्तरी मोर्चाको माग

राजविराज, ११ फागुन । मधेशी मोर्चा सप्तरीले विगत ६ महिनाको लामो बन्दका कारण सर्वसाधारण जनताको जनजीवन अति कष्टप्रद रहेको भन्दै बन्द अवधीको कर तथा व्याज मिनाहाको माग गरेका छन् ।
मोर्चासँग आवद्ध सम्पूर्ण राजनीतिक दलहरुले मङ्गलवार सप्तरीका निमित प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हुन् । लामो बन्दको अवधीमा कुनै पनि उत्पादनमूलक कार्य हुन नसकेको, व्यापार, व्यवसाय, कलकारखानालगायत सम्पूर्ण गतिविधिहरु बन्द रहेकोले सर्वसाधारण जनताको पीडालाई मध्यनजर गर्दै उक्त अवधीको कर तथा व्याज मिनाहा गर्न मधेशी मोर्चा सप्तरीले माग गरेको छ ।
सरकारी कार्यालयहरुले लिईरहेको राजश्व जरिवाना र ऋणको सम्पूर्ण व्याज मिनाहा गर्न माग गर्दै ज्ञापनपत्रमा भनिएको छ ‘बैंक तथा वितीय संस्थाहरुले ऋणको व्याजसमेत जरिवाना लिने अवस्था उत्पन्न भएको छ, सरकारी कार्यालयहरुले लिईरहेको राजश्व तथा जरिवाना मिनाहा गर्न सरकारसँग माग गर्दछ ।’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहीदहरुलाई अविलम्व सहीद घोषणा, घाइतेहरुको उपचार तथा अन्य सुबिधाहरु तत्काल उपलब्ध गराउन मोर्चाले माग गरेको छ । मोर्चाको मागप्रति बेवास्ता गरिए थप सशक्त आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । b
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, राजनीतिकर्मी सत्यनारायण यादव, सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, दिनेश कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, युवा नेता विनोद कुमार यादव, युसुफ अलि, फोरमका जिल्ला सचिव उमेश कुमार यादव, मोर्चाका नगर संयोजक उमेश कुमार साह कमाण्डो, सदस्य केदार यादव, नवनीत झा, अभिशेक यादव, रामकृष्ण मुखियालगायत मोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुसहितको टोलीले निमित प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्र मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवले वाचन गरेका थिए । ज्ञापनपत्र बुझ्दै उपाध्यायले तत्काल मोर्चाको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गरे ।Gyapan Patra of Madhesi Morcha Saptari