• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आफैं आफ्नो नहुनुको दुःख

खगेन्द्र संग्रौला

मैले ट्वीटरमा लेखें ‘जो आफैं आफ्नो होइन, ऊ हल्लिरहन्छ भित्तेघडीको लंगुरझैं, कहिले यता, कहिले उता ।’ त्यो राष्ट्रवादको भेल उर्लिएको याम थियो । संविधान चित्त नबुझेर मधेस आक्रोशित र आन्दोलित थियो । दिल्लीधामका ठूल्दाइहरू गुत्थ फुलेका थिए । दक्षिणी नाकाहरू बन्द थिए । काठमाडौंमा इन्धन अभाव थियो । जनजीवन अनिश्चितता र भयको सघन कुहिरोभित्र निसासिएको थियो । अलि दिनअघिसम्म हाम्रा शासक दिल्लीतिर फर्केर आत्महीन मुद्रामा ठूल्दाइलाई जदौ गर्दै हात थाप्थे । दृश्य एकाएक फेरियो । र, उनै शासक हिमालपारिको चीनतिर फर्केर जदौ गर्दै हात थाप्न थाले । हात उनै हुन्, हात थाप्ने उनै हुन् । केवल हातको दिशा परिवर्तन भयो । दिल्लीको उत्पात छिःछिः–दूरदूर हुँदै थियो र चीनको हुनुसम्म हाइहाइ । शासक वृत्तमा मौसमी राष्ट्रवादको बाढी आयो । राष्ट्रवादको गजुररूपी नेता को थियो ? आश्चर्य नेता उही थियो, जसले दिल्लीधामका चरणसामु सभक्ति शीर्षासन गर्दै महाकाली सन्धि गरेको थियो । र, जसले मखलेल मुद्रामा उही महाकालीको पानीबाट राष्ट्रवाद दक्षिणतिर बगाएको थियो ।

मागिखाने मुलाको अस्तित्व दयनीय हुन्छ । ऊ आफैं आफ्नो हुँदैन । ऊ पराश्रित हुन्छ । ऊ स्वत्वविहीन हुन्छ । ऊ आत्माभिमानशुन्य हुन्छ । त्यसैले त ऊ आफैं आफ्नो हुँदैन । भनुँ भने जीवनमा उसको आफ्नो भन्नु एकरत्ति केही हुँदैन । यो विराट जगत्मा सधैं ऊ अरू कसैको हुन्छ । ऊ त्यसको हुन्छ, जसले उसलाई भिक्षा दिन्छ । तर, सधैं एउटै मालिक, एउटै भिखारीलाई भीख दिइरहँदैन । भिखारीको भक्तिभावको मात्र नपुगेर कहिलेकाहीं ऊ झर्किन्छ, ऊ रिसाउँछ र ऊ भीख दिन छाड्छ । तैपनि भिखारी आफ्नै विवेक र पसिनाको बलले आफ्नै आर्जन खाएर आफ्नै खुट्टामा उभिँदै आफू आफ्नै हुने उद्यमतिर लाग्दैन । बसीबसी, हात पसारी–पसारी मागिखान अभ्यस्त यो हरिप अर्को मालिकको खोजीतिर लाग्छ । जब नयाँ भीखदाता फेलापर्छ, आत्महीन भिखारी उक्त नयाँ भीखदाताको बढाइचढाइ प्रशंसा गर्छ । र, पुरानो भीखदाताको बढाइचढाइ निदा गर्छ । हामीकहाँ भयो ठ्याक्कै त्यस्तै । अनि हिजोको निकट, प्रिय र पुजनीय प्रभुको निन्दा र आजको निकट, प्रिय र पुजनीय प्रभुको प्रशंसालाई राष्ट्रवाद भनियो । जसले आफ्नै खुट्टामा उभिएर र आफ्नै दिमागले सोचेर आफू आफ्नै हुन खोज्दै यस्तो राष्ट्रवादको राग रटना गर्न इन्कार गर्यो, उसलाई राष्ट्रघातीको फत्तुर लगाइयो ।

र, यी मान्यवरको अद्वितीय अन्वेषणशीलताको प्रशंसामा मैले ट्वीटरमा लेखें– ‘चुला–चुलामा ग्यास, बैठक–बैठकमा तेल, ढोका–ढोकामा रेल, पिँढी–पिँढीमा खीर, छाना–छानामा सुनका गजुर, छाती–छातीमा हीराका हार, आँगन–आँगनमा स्वर्ग जाने केबुलकार । हैट् मान्यवर ।’

दक्षिणी नाका बन्द हुँदा राष्ट्रवादी शासकगणका निरीह नजर उत्तरी नाकातिर सोझिए । अनि सुरु भयो, केरुङ र तातोपानी नाकाको अखण्ड महात्म्य । राष्ट्रवादीको अस्थिर मथिंगलमा उत्तरी नाका खोलेर दक्षिणका हेपाहा प्रभुलाई देखाइदिने सनक चढ्यो । र, भक्तिमुद्रामा बेइजिङको गुहार मागियो— गुहार, गुहार बेइजिङ आऊ, हामीलाई बचाऊ, दक्षिणका हेपाहालाई देखाइदेऊ । तत्पश्चात् प्रतिक्रियात्मक राष्ट्रवाद क्षणभंगुर चमत्कारतिर लाग्यो । मन्त्रीहरू ऊर्जा खोज्न माटोमा मिथेन ग्यास सुँघ्दै हिँडे । कोही हाहा–होहोको लयमा दगुर्दै पनौतीको भूमिगत ग्यास सुँघ्न गए । कोही वायु वेगमा बालाजुतिर हान्निए । तमास भयो, हिमवत् खण्डमा रातारात एकसेएक आविष्कारक प्रकट भए । कसैले सजीवनबाट ऊर्जा निकाल्यो, कसैले सल्लाको खोटोबाट । कसैले गोबरका गुइँठाबाट, कसैले मानवमलको थाप्रोबाट । कसैले पानीको बाफबाट, कसैले आगाको रापबाट । कसैले हावाबाट, कसैले सूर्यको किरणबाट । कसैले अपान वायुबाट, कसैले मुत्र रागबाट । हेर्दाहेर्दै मुलुकमा ऊर्जाको खोलो बग्यो ।
यत्तिकैमा राष्ट्रवादका महानायकका करुणामयी चित्तमा लोकका अभावग्रस्त अभागीप्रति अपार उदारता जागृत भयो र ज–जसलाई जे–जेको दुःख थियो, तिनले कुरैकुरामा ती सबै चीज प्रदान गरे । राष्ट्रवादी महानायकको अद्भुत कल्पनाशीलता, विचित्र सिर्जनशीलता, अगाध उदारता र असिम करुणाबाट मेरो चित्त हुनुसम्म प्रसन्न भयो । र, यी मान्यवरको अद्वितीय अन्वेषणशीलताको प्रशंसामा मैले ट्वीटरमा लेखें– ‘चुला–चुलामा ग्यास, बैठक–बैठकमा तेल, ढोका–ढोकामा रेल, पिँढी–पिँढीमा खीर, छाना–छानामा सुनका गजुर, छाती–छातीमा हीराका हार, आँगन–आँगनमा स्वर्ग जाने केबुलकार । हैट् मान्यवर ।’

भिखारीपन एउटा प्रवृत्ति हो, लम्पट प्रवृत्ति । भिखारीपन एउटा मनोरोग हो, अकर्मन्य मनोरोग । भिखारीपन एउटा कुण्ठा हो, आत्महीनताग्रस्त कुण्ठा । भिखारीपन सचेत योजना, अटुट प्रयत्न, सम्भावित जोखिम, अथक उद्यम, नवीन अन्वेषण, नूतन आविष्कार र गरिमामय आत्मनिर्भरताको शत्रु हो । भिखारीपन जीवनको हरियालीयुक्त वृक्षमा उम्रिने परजीवी ऐजेरु हो । नेपालको सत्तावृत्तमा यही भिखारीपनको रोग धेरै अघिदेखि व्याप्त छ । यो सत्ताले मुलुुक आत्मनिर्भर बन्ने दीर्घकालीन योजना कहिल्यै रचेन । केवल हरियो वन नेपालको धनको मन्त्र जप्यो र वन मास्यो । केवल नेपाल जलस्रोतको धनी देशको भजन गायो र कुम्भकर्णे निद्रामा लमतन्न सुत्यो । निहित स्वार्थका पुजारी सम्भ्रान्त शासकलाई सत्ता, भत्ता र मोजमज्जा पाए पुग्यो । तिनलाई देश–दुनियाँको कहिल्यै एक पित्को चिन्ता भएन । सत्तावृत्तमा केवल सत्तामा उक्लिने र सत्तामा भएकालाई खसाल्ने कुटिल क्रीडा चलिरह्यो । रंगरंगका शासक सदैव आफ्नै सेवा र आफैंलाई मेवामा लिप्त रहे । नतिजा के भयो ? दक्षिणका भीखदाता प्रभु रिसाउँदा मुलुकमा हाहाकार मच्चियो । र, मागिखानुमै मोक्ष देख्ने शासक भिखारीको भेषमा फनक्कै उत्तरमुखी हुन पुगे ।

आखिर यस्तो हुनु नै त थियो । जो आफैं आफ्नो होइन, उसको नियति आखिर भित्तेघडीको लंगुरभैं हल्लिनु त हो– लज्जाहीन मौसमी मुद्रामा कहिले दक्षिणतिर, कहिले उत्तरतिर । र, कहिले उत्तरतिर, कहिले दक्षिणतिर ।

भीख उत्तरको होस् वा दक्षिणको, भीख भनेको भीखै हो । एउटा भीखदातालाई देखाएर अर्को भीखदातासँग धक्कु लगाउनु निकृष्ट तहको मूर्खता हो । असल कुरो त दूरगामी दृष्टिले आफ्नै उद्यमका पौरखी द्वार खोल्नु हो । असल कुरा त आफ्नै बुद्धि खियाउनु हो, आफ्नै पसिना बगाउनु हो । असल कुरा कसैसँग भीख माग्नु नपर्नेगरी आफ्नै खुट्टामा उभिनु हो । र, असल कुरा आफू आफ्नै भएर स्वाभिमानको शिर ठाडो पार्नु हो । तर, मौसमी राष्ट्रवादीलाई यी सबै कुरा भन्नु भालुलाई पुराण सुनाउनुजस्तै हो । ती अहिले फेरि उत्तरबाट उही पूर्ववत् भक्ति मुद्रामा उही हेपाहा दक्षिणतिर पर्लक्क पल्टिएका छन् । र, केरुङ र तातोपानीको क्षणभंगुर किस्सा फासफुस भएको छ । अब मान्यवर भिखारीगणको गलित र थकित राष्ट्रवाद विस्मृतिको बाटो हुँदै दीर्घ विश्रामतर्पm उन्मुख छ । आखिर यस्तो हुनु नै त थियो । जो आफैं आफ्नो होइन, उसको नियति आखिर भित्तेघडीको लंगुरभैं हल्लिनु त हो– लज्जाहीन मौसमी मुद्रामा कहिले दक्षिणतिर, कहिले उत्तरतिर । र, कहिले उत्तरतिर, कहिले दक्षिणतिर ।www.ratopati.com