वीरगञ्ज, २१ माघ । बिगत डेढ हप्तादेखि भारतीय कस्टमहरुले बिभिन्न नेपाली नाकाहरुबाट प्रवेश गर्ने नेपाली नम्बरका सवारी साधनहरुमा लगाउदै आएको अस्थाई प्रवेश पास हटाउन संघीय समावेसी मधेसी युवा गठबन्धनले माग गरेको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्ज र रक्सौल कस्टमका जिम्मेवार पदाधिकारीहरुलाई संघीय समावेसी मधेसी युवा गठबन्धनले उक्त विषयमा बुधबार ज्ञापन पत्र बुझाएका हुन् । युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएका छन् ।
युवा नेता यादवले पौराणिक कालदेखि चल्दैआएको नेपाल भारत बीचको रोटी–बेटीको सम्बन्धमा सवारी प्रवेश नियमले प्रत्यक्ष असर पार्ने बताए । सुरक्षाको दृष्टिकोणले सवारी प्रवेश नियम राम्रो भएता पनि यसको कार्यान्वयन प्रक्रियाले खास गरी नेपालको तराई मधेसका उद्योगी, व्यापारी र आम जनतालाई प्रत्यक्ष असर पार्ने यादवले बताए । दुई देश बीचमा घनिष्ट सम्बन्ध रहेकोले सो सवारी प्रवेश नियम लाई अविलम्ब खारेज गर्न आग्रह गरे ।
टोलीमा फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य सञ्जय यादव, युवा गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफ, राष्ट्रिय मधेश समाजवादी पार्टी पर्सा सचिव धर्मेन्द्र पटेल, नेसपा पर्सा सचिव कृष्णा पटेल, युवा गठबन्धनका नेताहरु, रोशन पटेल, असरफ मन्सुरी, रमेश सहनी, महेश पटेल ,संदीप चौरसिया लगायतको सहभागिता रहेको थियो ।