बीरगञ्ज, १० माघ । मधेस आन्दोलनका घाइते पर्साको बगही ३ का २८ वर्षिय मन्सी पटेललाई आइतवार एक कार्यक्रमका बीच आर्थिक सहयोग प्रदान गरिएको छ ।
सिद्धार्थ इन्टरनेशनल कलेजका विद्यार्थीहरुबाट नगद रु १ हजार ८ सय र ज्ञान सरोबर सेकेण्ड्री स्कूलबाट रु १ हजार ८० रुपैयाँ आर्थिक सहयोग मन्सीका पत्नी र बुवालाई प्रदान गरेका हुन् । उनको राजधानी स्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कलेजका प्राध्यापक जेपी साह र विद्यार्थीहरु पवन पटेल, कृष्णा साह, रुपेश यादव, पुजा चौरसिया, सुमन कर्ण, उदिप साहको सक्रियतामा सो आर्थिक सहयोग सो आर्थिक सहयोग प्रदान गरिएको बगही निवासी गेनालाल पटेलले बताए ।
असोज ३ गते प्रर्दशनको क्रममा माइस्थानमा गोली लागेको थियो । उनको पिठ्युमा गोली लागेको र सोही दिनदेखि अस्पतालकै शय्यामा उपचार गराई रहेका छन् । परिवारजनका अनुसार दिनप्रति दिन अवस्था नाजुक हुदै गएको छ । बगहीमा अरुको जग्गामा झुपडी बनाएर बसेका पटेलको वृद्ध आमा बुवा पनि ज्याला मजदुरी गर्न नसक्ने अवस्था रहेको छ ।
यसै बिच फोरम मधेस गाउँ ईकाइ कमिटि बहुअरीको टोलीले पटेलकी पत्नी शान्तिदेवीलाई घरमै गएर नगद १० हजार २ सय २१ रुपैया हस्तान्तरण गरेको छ । बगही गाउँका महिलाहरुले संकलन गरेको १ सय ३० किलो चामलसमेत घाइते मन्सी परिवारलाई हस्तान्तरण गरिएको स्थानिय अगुवा एवं समाजसेवी रामअयोध्या कुर्मीले बताए । कुर्मीले समेत १ क्वीन्टल धान सहयोग गरेका छन् ।