• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रङ्गेली घटनामा मारिएकाहरुको शवयात्रा पश्चात अन्त्येष्टि गरिनेः मोर्चा

सोनु दास
मोरङ्ग, १० माघ । मोरङ्गको रङ्गेली घटनाको विषयमा स्थानीय प्रशासन र संयुक्त लोकतान्त्रिक मोर्चा बीच सहमति भएपछि सोमवार शवयात्रा पश्चात अन्त्येष्टि गरिने भएको छ ।
मोरङ्गको रङ्गेली घटनाका मृतक परिवारलाई तत्काल किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ प्रदान गर्नेलगायतका सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ्गमा आइतवार मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकमा मृत्यु भएका तीनै जनाको शव मोर्चाले बुझ्ने लिखित सहमति भएको छ । यसैगरी  मृतकलाई सहिद घोषणा गर्न र घाइतेहरुको निःशुल्क उपचारका लागि गृहमन्त्रालयमा सिफारिस गर्नेसमेत सहमति भएको प्रमुख जिल्ला अधिकारी तोयम रायाले जानकारी दिए ।
बैठकमा मधेसी मोर्चाका तर्फबाट राजकुमार यादव, मोहम्मद कादिरसहित नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीका प्रतिनिधिहरुले समेत सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मोरङ्गको रंङ्गेली घटनापछि मधेसी मोर्चासँग स्थानीय प्रशासनको पहिलोपटक छलफल भएको हो । गत बिहीबार रंङ्गेलीमा प्रहरीसँगको झडपमा तीनजनाको मृत्यु भएको थियो भने दर्जन बढी घाइते छन् ।
रङ्गेली घटनाको विषयमा स्थानीय प्रशासन र संयुक्त लोकतान्त्रिक मोर्चा बीच सहमति भएपछि शवको आइतवार विराटनगरमा पोष्टमार्टम गरिएको छ । सोमवार बिहान मोर्चाले शव बुझ्ने भएपछि पोष्टमार्टम गरिएको हो । बिहीबार रंगेली र डाइनियामा प्रहरीको गोली लागेर मृत्यु भएका तीनैजनाको शवको पोष्टमार्टम र एक्सरे गरिएको छ । मृतककहरुको शव कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ ।
मोर्चाका मोरङ्ग प्रवक्ता मोहम्मद कादिरले सोमवार बिहान १० बजे शव बुझ्ने र विराटनगरमा शवयात्रा गरिने जानकारी दिए । उनले रङ्गली र डाइनियामा समेत शवयात्रा गरिने र सोमवारै मृतकहरुको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने जानकारी दिए । शवयात्रामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लासमेत सहभागी हुने जनाइएको छ ।