• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

नेपाली मिडियालाई सद्भावना अध्यक्ष महतोको ३२ प्रश्न 

नेपाली मिडियालाई सद्भावना अध्यक्ष महतोको ३२ प्रश्न 

१. नेपालको मिडिया नेपालभरिलाई हो कि कुनै क्षेत्रविशेषका लागि मात्रै ?

२. मिडिया सम्पूर्ण समुदाय, जाति वर्गका लागि हो या खास वर्ग, जाति र समुदायका लागि मात्रै ?
३. राष्ट्रिय भनिने मिडियाको चरित्र राष्ट्रिय छ कि छैन ?
४. राष्ट्रिय भनिने मिडियाको चरित्र साम्प्रदायिकतातिर गयो कि गएन ?
५. नेपालको मिडिया खसवादी मानसिकता बोकेका मानिसका लागि मात्रै भयो कि ?
६. मधेस नेपालको हो कि होइन ?
७. मधेसीहरू नेपाली हुन् कि होइनन् ?
८. समान अधिकार, पहुँच र पहिचानका लागि मधेसीले संघर्ष गर्नु अपराध हो ?
९. हो भन्ने लाग्छ भने ठिकै छ, तर होइन भने मिडियाले खुलेर मधेसीको संघर्षलाई साथ दिनुपर्छ कि पर्दैन?
१०. राष्ट्रिय मिडिया दाबी गर्नेहरूले दल, नेता, व्यक्ति–विशेषको मुखपत्रका रूपमा काम गर्न हुन्छ कि हुँदैन ?
११. राष्ट्रिय भनिने मिडिया पूर्वाग्रहबाट ग्रसित हुन उचित हुन्छ ?
१२. यति ठूलो र चार महिनाभन्दा लामो मधेस आन्दोलनको सन्दर्भमा भएको जनप्रदर्शनबारे राष्ट्रिय भनिने मिडियामा सत्यतथ्य नआउनुको मतलब के हो ?
१३. शान्तिपूर्ण मधेस आन्दोलनमा सरकारद्वारा आन्दोलनकारी निर्दोषमाथि छाती र टाउकोमा गोली हान्नेलाई राज्यआतंक नदेख्ने हाम्रो कस्तो राष्ट्रिय मिडिया हो ?
१४. टीकापुरको घटनामा दुई वर्षको बच्चा मारिनु दुर्भाग्यपूर्ण थियो । ती बिचराले मिडियामा स्थान पाउनु स्वाभाविकै थियो । तर, भैरहवामा ४ वर्षको बच्चालाई प्रहरीले गोली ठोकेर मार्दा त्यत्तिकै स्थान मिडियाले किन दिएन ?
१५. मधेसीहरूको अधिकार र पहिचानका लागि भएको आन्दोलन साम्प्रदायिक देख्ने, आधार र प्रमाणविना मधेसीलाई विखण्डनकारी, राष्ट्रघाती देख्ने मिडियाको दृष्टि कसरी सही छ ?
१६. दुई सय ५० वर्षदेखि मधेसी, दलित, जनजातिमाथि भएको शोषण र विभेद कसले गर्‍यो भनेर मिडियाले खोइ प्रश्न गरेको ?
१७. विभेदविरुद्ध आवाज उठाउने दायित्व मिडियाको हो कि होइन ?
१८. लोकतान्त्रिक मूल्य–मान्यताविपरीत समुदाय विशेषका आधारमा आन्दोलन र राजनीतिक विषयलाई मिडियाले फरक मापदण्ड राखेर हेरेको छ । त्यही खालको आन्दोलन एउटाले गर्दा ठीक हुने, अर्कोले गर्दा बेठीक भन्न पाइन्छ ?
१९. ग्यास, पेट्रोल नपाउनु मात्रै मानवीय संवेदनशीलता हो कि सयौँ वर्षदेखि एउटा भेग र समुदायका जनता अधिकारविहीन अवस्थामा गुलामीको जिन्दगी बिताउन विवश हुनु पनि संवेदनशीलता हो ?
२०. मधेसका निहत्था जनतामाथि गोली हानेर मार्ने, घाइतेको उपचारसमेत नगरिदिने कार्य मिडियाको नजरमा मानवीय संवेदनशीलता र मानवअधिकार उल्लंघनमा पर्छ कि पर्दैन ?
२१. औषधि आपूर्तिका लागि नाका खोल्न हरप्रकारले सहयोग गर्दा मानवीय संवेदनशीलताको ढोल पिटेर आन्दोलन तुहाउने, सीमा अवरोध हटाएर आन्दोलन समाप्त पार्ने प्रयासमा संवेदनशीलताको दुरुपयोग भएको मिडियाले देख्छ कि देख्दैन ?
२२. औषधि नपाएको कुरालाई संवेदनशीलता देख्ने, मान्छे मारेको कामलाई संवेदनशीलता नदेख्ने हाम्रो कस्तो मिडिया ?
२३. राष्ट्रिय भनिने मिडियाको नजरमा मधेसीलाई शान्तिपूर्ण असहयोग आन्दोलन गर्ने अधिकार हुन्छ कि हुँदैन ?
२४. मिडियाले इतिहासको कठघरामा उभिनुपर्छ कि पर्दैन ?
२५. पहाडमा भुइँचालोबाट पीडा हँुदा तीन दिनमा मधेसीहरू मलमपट्टी र खाद्यान्न बोकेर पहाड उक्लिए । तर, आन्दोलनको चार महिना हुँदासम्म मधेसीको पीडामा मलम लगाउन पहाड नआएको विषय मिडियाले किन लेखेन ?
२६. ४० दिनसम्म मधेस बन्द गर्दा न काठमाडौंले सुन्यो, न पहाडले । चार दर्जन आन्दोलनकारी मारिँदा पहाडले ध्यान दिएन । त्यसपछि मात्रै नाकामा गएर अवरोध गर्नुपरेको बाध्यात्मक अवस्थालाई किन राष्ट्रिय मिडियाले बुझेन वा बुझेर पनि मनन गरेन ?
२७. मिडियाको दृष्टिमा आन्दोलनका कारण परेको पीडाबाट मुक्ति दिलाउने काम सरकारको हो कि आन्दोलनकारीको ?
२८. हरेक घटनामा मिडियाले किन आन्दोलनकारीलाई जिम्मेवार देख्छ, सरकारलाई किन देख्दैन ?
२९. मधेस आन्दोलनका वेला भारतको राज्यसभामा बहस भयो तर त्यसमा मधेस आन्दोलनलाई प्राप्त समर्थन र विदेशमन्त्री सुष्मा स्वराजको अभिव्यक्तिलाई मिडियाले किन यथोचित स्पेस दिएन, डा. करण सिंहको भनाइलाई किन ठाउँ दिएन ? तर, सामान्य हैसियतका सांसद मणिशंकर ऐयरले किन हेडलाइनमा स्पेस पाए ?
३०. आन्दोलनकारीले नाकाबन्दी गरेको जान्दाजान्दै मिडियाले किन भारतलाई निरन्तर नाकाबन्दीको आरोप लगाएर खेदिरहेको छ ?
३१. भारतलाई जोडेर मिडियाले मधेस आन्दोलनको अवमूल्यन गरेको हो कि होइन ?
३२. मिडियाले मधेस आन्दोलनमा निर्वाह गरेको भूमिकालाई निर्मम समीक्षा गर्ने कि नगर्ने ?
पुनश्च : मैले सबै मिडियालाई यो आरोप लगाएको होइन तर नेपाली मिडियाको औसत चरित्रका आधारमा प्रश्न गरेको हुँ । कतिपय मिडियाले राष्ट्रिय धर्म निर्वाह गरेका छन् । उनीहरूका लागि मेरा प्रश्न छैनन् । नेपाली मिडियाले यसलाई बहसका लागि डिस्कोर्स बनाउनेछ भन्ने आशा गरेको छु ।
(महतो सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष हुन् )