राजविराज, २ पुस । मधेशी मोर्चा सप्तरीले विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै विहीवार समेत राजविराजमा विरोधसभाको आयोजना गरेको छ ।
स्थानीय शहीद दशन चौकमा आयोजित सभाका वक्ताहरुले तीन ठूला दलले मधेशी जनताको शान्तिपूर्ण आवाजलाई उपेक्षा गरेको भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । राज्यपक्षले वार्ताको नाममा राज्ययपक्षले नौंटंकी गरिरहेको भन्दै जनकपुरमा सर्वसाधारण जनतामाथि गरिएको दमनको कडा शब्दमा वक्ताहरुले भत्र्सना गरे ।
मधेशी मोर्चाका क्षेत्र नम्वर ३ का संयोजक लक्ष्मण यादवको अध्यक्षतामा आयोजित सभामा मधेश रक्षा वाहिनीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, मोर्चाका नगर संयोजक उमेश साह ‘कमाण्डो’, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, किसान मञ्चका महासचिव अमरकान्त झा, पञ्चदेव यादव, रामकिसुन यादवलगायतले सम्बोधन गरेका छन् ।