राजविराज, १ पुस । विगत २४ दिनदेखि ठप्प रहेको स्वास्थ्य संस्थाहरु सुचारु गराउनका लागि बुधवार आन्दोलनरत स्वास्थ्यकर्मी र क्षेत्रिय टोली बीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।
तत्काल मिल्न सक्ने विषयमा सहमति गरी नमिलेका विषयमा विकल्प खोज्नकालागि भएको छलफलमा टुङ्गो लाग्न सकेन । सप्तरीका स्वास्थ्य संस्था सुचारु गराउनका लागि पुर्वाञ्चल क्षेत्रिय टोलीले समस्या समाधानकालागि पहल थालेको थियो । पुर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख झलक शर्माको नेतृत्वमा रहेको ९ सदस्यीय टोलीले स्वास्थ्य सेवा सुचारु गर्ने विषयमा पहल गरेका थिए । टोलीमा पुर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका प्रतिनिधी, पुर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालयका एसपी शेखर कोईराला, सशस्त्र प्रहरीका एसपी भुवनेश्वर चौधरी लगायतको सहभागिता रहेको थियो ।
गत मंसिर ६ गते राजविराज स्थित सगरमाथा अंचल अस्पतालमा प्रहरी प्रवेश गरी उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेको भन्दै जिल्लाभरीका स्वास्थ्य संस्था ठप्प रहँदैआएको छ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकसहित जिल्लाभरीका स्वास्थ्यकर्मीहरुको आन्दोलनको टुङ्गो लगाउन सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टसमेतले पहल गरेका थिए । आन्दोलनरत पक्षले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीहरुको निलम्बन, शान्ति सुरक्षाको ग्यारेन्टि, औषधी उपचारलगायतका मागहरु राखेर आन्दोलन गर्दैआएका छन् ।