सन्तोष पटेल
वीरगंज, २८ मंसिर । संघिय समावेशी मधेसी युवा गठबन्धन पर्साका संयोजकसहित पक्राउ परेका तीन जना युवा नेताहरु सोमवार रिहा भएका छन् ।
मंसिर २१ गते नारायणी उप–क्षेत्रिय अस्पताल वीरगञ्जमा गलत क्रियाकलाप भईरहेको सुचना पाए लगतै युवा मोर्चाका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पताल प्रशासनलाई गलत क्रियाकलाप रोक्न आग्रह गर्दा बिवाद भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेका थियो । पक्राउ परेका मोर्चा संयोजक यादव र युवा नेताद्वय अनिल गुप्ता र निशान्त मिश्रालाई पर्सा जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।
तीनै जनासँग २ हजार ५ सयको दरले धरौटी लिई तारेखमा रिहा गरेको हो । युवा नेताहरुको तर्फबाट अधिवक्ताहरु सुधिर कर्ण, शैलेन्द्र चौरसिया, सुरेन्द्र कुर्मी र वकिल मियाँले बहस गरेका थिए । रिहाई भए लगतै युवा नेताहरुलाई बिरगञ्ज नगर परिक्रमा गराई घण्टाघरमा गठबन्धनका नेताहरुले स्वागत गरेका थिए ।
युवा मोर्चा पर्साका सल्लाहकार ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न सभामा गठबन्धनका नेता शिव पटेलले जारी मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका युवाहरुलाई बधाई दिदै अगामी दिनमा थप जोश र जाँगरका साथ आन्दोलनमा सहभागी हुन आग्रह गरे । गठबन्धनका नेता प्रेमबाबु पटेलले प्रहरी प्रशासनले मधेस आन्दोलनलाई तुहाउन फोहरी खेलमा लागेको बताउदै मधेस बिरोधी प्रशासनसँग एक ईन्च पनि मधेसीहरु नडराई आफनो अधिकारको लागि लडिरहने बताए ।
सभालाई सम्बोधन गर्दै शशिकपुर मियाँले जारी मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला युवाहरुलाई पक्राउ गरी आन्दोलन तुहाउने काम प्रशासनले गरेका प्रति कडा आपती जनाए । रिहा भएका युवा नेताद्वप ईश्वरचन्द्र यादव र अनिल गुप्ताले आफुहरुलाई अपराधी शैलीमा प्रशासनले पक्राउ गरी थुनामा राखेकोमा आफुहरु अलिकति पनि बिचलित नभएको बताउदै अधिकारका लागि जेल भरो आन्दोलन गर्नुपर्ने धारणा राखे ।
यसैबिच रिहा भएका युवा नेताहरुलाई पुर्व राजदूत बिजयकान्त लाल कर्ण र नागरिक समाज वीरगंजका अगुवा डा. दिपक शाक्यले समेत बधाई एवं शुभकामना दिएका छन् ।