राजविराज, २७ मंसिर । विगत तीन सातादेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सप्तरीसहित देशका विभिन्न जिल्लाहरुमा आन्दोलन जारी रहँदा पनि राज्यपक्ष सम्वेदनशील नभएको भन्दै मधेशी मोर्चा सप्तरीले गम्भीर आपत्ति जनाएको छ ।
मेर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्न जोडदार माग गरेका छन् । ‘हालसम्म राज्यपक्ष तथा सम्बन्धित निकायबाट कुनै किसिमको चासो नदेखाएको भन्दै सप्तरी जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल जनस्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्र पूर्ण रुपमा ठप्प रहेको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘दिनहुँ रोगीहरु मारमा परिरहेको प्रति सम्बन्धित निकाय कानमा तेल हाली मौन बसेकोले सम्बन्धित निकाय गैरजिम्मेवारपनको पराकाष्ठा नाघेको मधेशी मोर्चाले ठहर रहेको छ । अविलम्ब स्वास्थ्यकर्मीहरुको जायज मागलाई सम्बोधन गरी दोषीलाई कडा कारवाही गर्न मधेशी मोर्चाले प्रेस विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार तथा कुटपिटको विरोधमा आन्दोलित स्वास्थ्यकर्मीहरुलाई समर्थन र ऐक्यबद्धता जनाउन सम्पूर्ण नागरिक समाज बुद्धिजिवि, व्यापारी, व्यवसायी, युवा विद्यार्थी तथा सम्पूर्ण सर्वसाधारणहरुसँग २८ गते सोमबार ऐक्यबद्धता र समर्थनको लागि सहभागी भई दिनु हुन मधेशी मोर्चाले अपिल गरेको छ । निर्णायक अधिकार प्राप्तिको मधेश आन्दोलन उचाईमा पुगिरहेको अवस्थामा अबको निर्णायक यस महान आन्दोलनलाई अझै सशक्त बनाउन समेत मोर्चाले अपिल गरेको छ ।