जिल्लाभरिका स्वास्थ्यकर्मीसहित कर्मचारीहरु सडकमा
राजविराज, २५ मंसिर । तीन सातादेखि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु ठप्प रहँदा आफूहरु स्वास्थ्य सेवाबाट बञ्चित भएको भन्दै शुक्रवार राजविराजमा बृहत प्रदर्शन गरिएको छ ।
विरामी समेत रिक्सामा राखेर सर्वसाधारण जनतासहित जिल्लाका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन् । अस्पताल परिसरबाट निकालिएको बृहत जुुलुश नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि केहीबेर विरामीहरुले उपचारको माग गर्दै प्रदर्शन गरेका छन् । 
जिल्लाभरीका चिकित्सक, स्वास्थ्यकर्मी, औषधीव्यवसायी, सरकारी कार्यालयका कर्मचारी, निजी क्लिनिक सञ्चालक समेतको सहभागिता रहेको उक्त जुलुस गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुगी सभामा परिणत भएको थियो । सभामा बोल्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट महेश प्रसाद खनालले जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा ठप्प रहँदा पनि राज्य गम्भीर नभएको भन्दै थप सशक्त आन्दोलन गर्नु बाध्य हुने चेतावनी दिए ।
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्र कुटपीट गरेको विरोधमा जिल्लाका सम्पूण स्वास्थ्यकर्मीहरु आन्दोलन गर्दैआएका छन् । उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको निलम्बन, शान्ति सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।
सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विहीबारदेखि सरकारी स्वास्थ्य संस्थाबाट प्रहरी प्रशासनबाट आउने घाउ जाँच केश फारम र मादक पदार्थ सेवन प्रमाणित गर्ने कार्य समेत वहिष्कार गरेका छन् ।
यता सप्तरी प्रमुख जिल्ला अधिकारी नारायण भट्टले आफू स्वास्थ्यकर्मीहरुको समस्याप्रति गम्भीर रहेको तथा चाँडै निकास दिने आश्वासन दिएका छन् । 
