राजविराज, २५ मंसिर । राजविराजस्थित सम्पूर्ण औषधी पसल शुक्रबारदेखि बिहानको चार घन्टा बन्द रहने भएको छ ।
सगरमाथा अंचल अस्पतालमा जारी स्वास्थ्यकर्मीको आन्दोलनमा ऐक्यबद्धता दर्शाउँदै आएका औषधी व्यवसायीहरूले मंसिर २५ देखि पुस २ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म आ–आफ्नो औषधी पसल बन्द राख्ने निर्णय गरेका हुन् । औषधी व्यवसायी संघर्ष समितिका संयोजक प्रमोद कुमार यादवले शुक्रबार जारी गरेको विज्ञप्तिमा औषधीसम्बन्धी संवेदनशीलताका कारण पसल बन्दको समयमा सगरमाथा अञ्चल अस्पताल हाताभित्रको इमरजेन्सी औषधी पसल सधैं र अस्पताल बाहिरका पसलहरूमध्ये दैनिक एउटा पसल खुला राख्ने जनाइएको छ ।
यसरी खुला राखिने पसलहरूमा शनिबार निरज फार्मेसी, आइतबार अभिषेक फार्मेसी, सोमबार माझी मेडिकल हल, मंगलबार कोशी फार्मेसी, बुधबार गंगा लीला मेडिकल र बिहीबार जनआर्शीवाद मेडिकल रहेका छन् । संघर्षका क्रममा औषधी पसलहरू बन्द रहनाले उत्पन्न हुने अवाञ्छित परिस्थितिका लागि गृह प्रशासन जिम्मेवार तथा जबाफदेही हुने उल्लेख गर्दै विज्ञप्तिमा हाम्रो संघर्षका कारण पर्न गएको असुविधाका लागि सर्वसाधारणप्रति दुःख व्यक्त गरिएको उल्लेख छ ।