राम नारायण पंडित,सिरहा, २५ मंसिर । ट्रयाक्टरले किचेर सिरहाको गोलबजारमा शुक्रवार विहान एक आन्दोलनकारीको मृत्यु भएको छ ।
स.१ त १८४५ नम्वरको ट्रयाक्टरले किच्दा गोलबजार नगरपालिका वडा नम्वर– ४ का कुशे साहको मृत्यू भएको हो । गोलबजारबाटै सिमेन्ट लिएर दक्षिणतर्फ गईरहेको ट्रयाक्टर रोक्ने प्रयास गरेका उनलाई ट्रयाक्टरले किचेको प्रहरीले जनाएको छ ।
सिमेन्ट लोड गरिरहेकै अवस्थामा साहले बन्दमा किन गाडी चलाएको भन्दै रोक्ने प्रयास गरे पनि सिमेन्ट बोकेर जाने क्रममा फेरी उनले ट्रयाक्टरलाई रोक्ने प्रयास गरेका थिए । रोक्ने प्रयासको क्रममा साहले ट्याक्टरमा ग्यास सिलिण्डर प्रहार गर्दा साह लडेर ट्याक्टर अगाडी पुगेको जनाइएको छ ।
ट्रयाक्टरले किचेर घाइते भएका साहको उपचार गर्न लहानतर्फ लाँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
यता आन्दोलनकारीले आफ्नो कार्यकर्ताको हत्या गरेको भन्दै गोलबजारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले टायर बालेर नारावाजी गर्दै मृतकलाई सहीद घोषणाको माँग गरेका छन् । बन्द हडतालका कारण दिनभरी बजार पसलहरु बन्द रहने हुँदा रातीको समयमा निर्माण सामग्रीहरु विक्री हुने गरेको छ ।