राजविराज, २० मंसिर । बौद्धिक समाज सप्तरीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा विगत दुई सातादेखिको जारी आन्दोलनको अविलम्ब समाधान खोज्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
समाजले आइतवार पत्रकार सम्मेलन आयोजना गरी समाजका संयोजक प्रा. अमरकान्त झाले जिल्लामा उत्पन्न स्वास्थ्य समस्याको समाधान गर्न गराउन राष्ट्रिय चिकित्सक संघ, स्वास्थ्य सेवामा कार्यरत संघ–संस्था समेतको ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्योपचारमा संलग्न गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल मंसिर ६ गते बिहान १० बजे सप्तरीका सुरक्षा प्रमुखहरुको निर्देशनमा सयौंको संख्यामा सशस्त्र र नेपाल प्रहरी अस्पताल हाताभित्र प्रवेश गरी घाइतेहरुका आफन्त, उपचारार्थ बिरामी तथा उपचारमा संलग्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई निर्घात कुटपीट गरेपछि जारी आन्दोलनमा संघ–सङ्गठन र राजनीतिक दलहरुसमेतले ऐक्यवद्धता जनाईसकेको अवस्थामा समस्या समाधान नभएकोमा समाजले चिन्ता व्यक्त गरेको छ ।
जिल्लाका बौद्धिक समाज, मानवअधिकारकर्मी, नागरिक समाज, पेशागत संघ–सङ्गठनको दवाबमा प्रमुख जिल्ला अधिकारी अस्पतालमा दुई–दुई पटक आई समस्या समाधान गर्नुको साटो पीडकलाई संरक्षण दिईरहेको संयोजक झाले आरोप लगाए । प्रहरीको लाठी र बन्दुकको कुन्दा प्रहारबाट सख्त घाइते स्वास्थ्यकर्मीहरुको घाउ खत जाँच गरी अपराधीलाई सजाय गराउन निवेदन समेत दर्ता नगरी नागरिकको आधारभूत संवैधानिक र कानूनी हकबाट बञ्चित गर्ने मानवीय अपराध गरेको भन्दै उक्त कार्य घोर निन्दनीय रहेको पत्रकार सम्मेलनमा संयोजक झाले बताए ।
मानअधिकारको विश्वव्यापी मान्यता अनुसार मानव अधिकारवादी संघ–संस्था, रेडक्रस र पत्रकार जगत द्वन्द्वग्रस्त क्षेत्रमा पुगी त्यसको निष्पक्ष अवलोकन गरी विश्व जनसमुदायलाई जानकारी गराउनुको साथै द्वन्द्व न्यूनिकरण गराउने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगको टोली फिर्ता बोलाउने कार्य घोर निन्दनीय भएको उनले बताए । आयोगको क्रियाकलाप राज्यपक्षीय रहेको आवाज उठ्दैआएको अवस्थामा शान्तिपूर्ण आन्दोलनलाई नै बदनाम गराउन दमनकारी सरकारलाई सहयोग पुर्याउने उद्देश्यले मधेशमा शान्ति सुरक्षाको प्रत्याभूती नभएको भन्दै आयोगको टोली फिर्ता बोलाउनु घोर निन्दनीय भएको भन्दै आफ्नो दायित्व निर्वाह गर्न बौद्धिक समाजको तर्फबाट संयोजक झाले आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा वरिष्ठ राजनीतिज्ञ समेत रहेका समाजका सल्लाहकार खुशीलाल मण्डल, समाजका सचिव अनिलकुमार अनल, प्रा.डा. हेमकुमार मिश्र, अधिवक्ता श्यामनारायण साह, शिक्षाप्रेमी भवेन्द्र प्रसाद यादवलगायतले जिल्लामा समेत चरम मानव अधिकार उल्लंघन भइरहेको भन्दै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।