प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको भन्दै त्यसविरुद्ध राजविराजस्थित गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए । उनीहरुको आन्दोलनलाई समर्थन गर्दै सप्तरी जिल्लाभरिकै स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मी र कर्मचारी पनि आन्दोलित भएपछि दुई सातादेखि यहाँ स्वास्थ्य सेवा ठप्प छ । अस्पतालमा कार्यरतदेखि क्वार्टरमा बसेका स्वास्थ्यकर्मी समेतलाई प्रहरीले कुट्दा पनि दोषिमाथि कारवाही, घाइतेको उपचार लगायतको मामिलामा देखाइएको उदासिनताले आन्दोनलन जिल्लाभरि विस्तार भएको कुरामा शंका छैन ।
लामो समयदेखिको मधेश आन्दोलनका क्रममा सप्तरीमा पनि घाइतेहरुको संख्या बढ्नु, आन्दोलनका क्रममा यसपटक आधादर्जन जतिले यस जिल्लामा ज्यानै गुमाउनु परेको घटनाले यहाँको स्वास्थ्य क्षेत्रलाई सम्वेदनशिलताका रुपमा लिँदै त्यहाँ शान्तिसुरक्षाको विशेष प्रबन्ध मिलाउनु पर्ने आवश्यकता छ । तर, त्यसका विपरित अस्पताल हाताभित्रै सुरक्षाकर्मीबाटै चिकित्सक, कर्मचारीलाई कुटपिट गरिने र दोषिमाथि कारवाहीसम्म नभएका कारण अस्पतालले कसरी सेवा प्रवाह गर्न सक्ला ? यतिबेला सर्वसाधारणले स्वास्थ्योपचार सेवाबाट बञ्चित हुनुपरेको दुई साता वित्दापनि समस्याको समाधान प्रति सम्बद्ध पक्षले गम्भिरता देखाएको छैन ।
पीडित पक्षबाट राखिएका माग पूरा गर्न, अस्पताल लगायत जिल्लाभरिका स्वास्थ्य संस्थामा ठप्प रहेको सेवा सुचारु गराउने विषयमा ठोस पहल समेत भएको छैन । एक त लामो आन्दोलनबाट यस जिल्लाको अवस अत्यन्त कष्टप्रद बनेको छ । त्यसमाथि अत्यावश्यक औषधी समेतको अभावकाबीच स्वास्थ्यकर्मीहरुको आन्दोलन समेत थपिएपछि सबैभन्दा बढी समस्या विरामीहरुले भोग्नु परिरहेको छ ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुको मागका बरेमा स्थानीय प्रशासन, नागरिक समाज, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षले चासो देखाएर अवस्था सहज तुल्याउनेतिर नलाग्ने हो भने यहाँ कुनै पनि बेला विरामीको ज्यानै खतरामा पर्ने अवस्था नआउला भन्न सकिन्न । गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले मानवीय सम्वेदनशिलतालाई दृष्टिगत गरी आन्दोलनका क्रममा पनि टेण्टमुनि आकस्मिक उपचार सेवा चाही दिएका छन् । तर, जिल्लाभरिकै उपचार सेवा ठप्प रहेको दुई साता वितिसक्दा पनि त्यस प्रति चासो नलिई कानमा तेल हालेर सुत्ने रबैया नसुधार्ने हो भने समस्या जटिल बन्न सक्छ । त्यसैले समयमै समस्याको समाधानतिर सक्रियताका साथ लाग्नुपर्ने आजको टड्कारो आवश्यकता हो । यही पाराले त कसरी चल्ला ?