राष्ट्रिय मानव अधिकार आयोगले अप्रत्यासित र अनपेक्षित रूपमा मधेस आन्दोलनको अनुगमनबाट आफुलाई अलग पारेको छ । अदालत, मानव अधिकार आयोग, प्रेस र रेडक्रस जस्ता निकायहरू सदैब न्यायको लागि संघर्षरत्, पीडित र विपत्तमा परेका पक्षको हीतमा जस्तो सुकै चुनौतिको सामना गरेर भएपनि काम गर्नु पर्दछ । विश्व सन्दर्भमा र नेपाल कै सन्दर्भमा यस खाले अनेकन उदाहरण छन् । पंचायती शासनको अन्त्य तिर नेपाल रेडक्रस र नेपाल जेसिजले मानवीय दायित्वको पालन गर्न राजदरबारको हस्तक्षेप मानेन । माओवादी जनयुद्धको बेला सर्वोच्च अदालतका प्रधान न्यायाधिश केशव उपाध्यायलाई लक्ष्यगरी गरिएको बम बिष्फोटमा उनि बांचे तर, न्यायालय माओवादीको बिरूद्धमा गएन । न्याय सम्पादनबाट बिमुख पनि भएन ।
अहिले मुलुक गंभीर संकटमा परेको बेला, सरकार तथा सुरक्षा निकायहरू प्रष्टत: दमनकारी देखिएको बेला, संयुक्त राष्ट्र संघीय मानव अधिकार अायोगले समेत मधेस आन्दोलनमा अत्यधिक बल प्रयोग भएको भनिएको बेला आयोगको यस निर्णयलाई कुनै पनि रूपमा कर्तव्य पालन गरेको मान्न सकिदैन । मुलुकको संविधानले दिएको जिम्मेवारी तथा दायित्वको निर्वाहमा राष्ट्रिय मानव अधिकार आयोग चुकेको छ । दायित्वबाट च्युत भएको छ ।
आयोगको यो निर्णय यथार्थमा नेपाल सरकारको दुराग्रही सोचको पृष्टपोषण गरेको स्पष्ट छ । अब यस आयोगका पदाधिकारीहरूले कुनैपनि मर्यादाका आधारमा पदमा बसी रहन मिल्दैन । आन्दोलनरत् संधीय समावेशी मधेसी गठबन्धन तत्काल राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको राजिनामाको मांग गर्दछ ।
बाबुराम भट्टराई प्रधानमंत्री भएको बेला, स्वयं मधेसी दलहरू समेत सरकारमा भएको बेला संयुक्त राष्ट्र संघीय मानव अधिकार अायोगका प्रतिनिधिको कार्यालयलाई नेपालबाट हटाईयो । तत्कालिन मंत्रीको रूपमा जेपी गुप्ता र थर्ड एलाएन्स जस्ता मानव अधिकारवादी संस्थाहरूले त्यस कार्यको बिरोध गरेको स्मरणीय छ ।
आन्दोलनका क्षेत्रबाट राष्ट्रिय मानव अधिकार आयोगको पलायन पछि अहिले मधेसमा मानव अधिकार उलंघनको तत्काल अनुगमन गर्न र हिंसक सरकारको दमनबाट संघर्षरत् जनताको प्रतिरक्षाका लागि संयुक्त राष्ट्र संघका महासचिवले यथाशिध्र संयुक्त राष्ट्र संघीय मानव अधिकार अायोगका प्रतिनिधिलाई नेपालमा पठाउनु पर्दछ । यस बिषयमा आन्दोलनरत् संधीय समावेशी मधेसी गठबन्धन तत्काल संरासंधको नेपाल स्थित कार्यालयका मार्फत महासचिवको ध्यानाकर्षण गराउन चाहन्छ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताको फेसबुक वालबाट