राजविराज, १८ मंसिर ।
सिरहाको महेशवारीमा मधेसी मोर्चाका कार्यकर्ताहरुले शुक्रबार ग्यास सिलिन्डर बोकेको मोटरसाइकलमा आगजनी गरेका छन् ।
महेशवारीस्थित इलाका प्रहरी कार्यालय अगाडि लहान–डाठी सडक खण्डमा ज ६ प ५६८९ नम्बरको पल्सर मोटरसाइकलमा उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूूर्णरूपमा जलेर नष्ट भएको छ ।
भारतीय बजार लौकहाबाट ग्यास सिलिन्डरमा भरेर ल्याउने क्रममा चार–पाँच जनाको समूूहमा रहेका आन्दोलनकारीहरुले मोटरसाइकल रोकेर आगजनी गरेको मोटरसाइकल धनी सप्तरीको हरिपुर निवासी श्रीराम साहले बताए ।
यता ईलाका प्रहरी कार्यालय महेशवारीले मोटरसाइकल जलाएको आशंकामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री राजलाल यादबको गाडी चालक अजय यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको छ ।