राजविराज, १७ मंसिर । अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनमा सहादत प्राप्त गरेको सहिदहरुको श्रद्धाञ्जली अर्पण गर्न तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु शुक्रवार राजविराज आउने भएका छन् ।
राजविराज स्थित गजेन्द्र चौकमा आयोजना हुन लागेको बृहत श्रद्धाञ्जली सभालाई ठाकुरसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । उक्त श्रद्धाञ्जली सभामा सहभागी भई शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न मधेशी मोर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिएका छन् ।
यसैगरी विहीवार दिउँसो ३ बजे सप्तरी जिल्लाको हरेक चोकहरुमा शहिदहरु प्रति श्रद्धाञ्जलीको लागि ५ मिनट मौनधारण गरी शोक समेत मनाएको संयोजक मण्डलद्वारा प्रषित विज्ञप्तिमा जनाइएको छ । सप्तरीका इलेक्ट्रोनिक सञ्चारमाध्यमहरु छिन्नमस्ता, सी, भोरुकवा र चन्द्रमा एफएमबाट शोक धुन बजाएकोमा उनले मधेशी मोर्चाको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् ।
निर्णायक मधेश आन्दोलनमा सप्तरीको सञ्चार क्षेत्रबाट अतुलनीय योगदान रहदै आएको तथा एफएमहरुबाट उर्जा पाईरहेको निर्णायक मधेश आन्दोलनको लागि आगामी दिनहरुमा समेत मोर्चाले सहयोगको अपेक्षा गरेको छ ।