राजविराज, १६ मंसिर । सद्भावना पार्टी राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनको सम्झौता उधारोमा नभई नगदमै हुने बताएका छन् ।
सप्तरीको बभनगामाकट्टी गाविस तोपा स्थित निम्न माध्यमिक विद्यालयमा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । अधिकार प्राप्तिका लागि जस्तोसुकै संघर्ष गर्न आफूहरु तयार रहेको प्रष्ट्याउँदै उनले भने ‘मधेशी जनता जस्तोसुकै संघर्ष गर्न तयार छ, तर सम्झौता उधारोमा हुदैन, नगदमा हुन्छ ।’ निर्णायक लडाईका लागि थप सशक्त भएर अगाडि बढ्न आग्रह गर्दै उनले आफूहरु जस्तोसुकै कठिन संघर्ष गर्न तयार रहेको बताए ।
कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव, पार्टीका केन्द्रीय सदस्यहरु दिपेन्द्र प्रसाद चौधरी, विशेश्वर रजक, दिनेश कुमार यादव लगायतले मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा बभनगमा गाविसका एमाओवादी गाउँ कमिटि अध्यक्ष जगदीश मंडल, एमाले गाउँ कमिटि अध्यक्ष गोपी देव, हनुमाननगरका काँग्रेस इकाई सदस्य राधे दास, इनरवाका महादेव पासवान लगायतका व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई राष्ट्रिय अध्यक्ष महतोले फूलमाला र अवीर लगाएर स्वागत गरेका छन् ।
यसैगरी हनुमाननगरमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण समेत दिएका छन् ।