राजविराज, १६ मंसिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुको टोलीले आन्दोलनका घाइतेहरुसँग भेंटघाट गरेका छन् ।
सप्तरीको ईटहरी विष्णुपुर–९ का घाइतेहरुसँग उनले बुधवार भेंटघाट गरेका हुन् । फोरमका अध्यक्ष यादवले राजविराजमा प्रहरीको लाठी चार्जबाट घाइते भएका बिरेन्द्र प्रसाद राम र रुपनीको आन्दोलनमा दुवै हात भाँच्चिएका बिसुनदेव रामसँग भेटेका छन् ।
भेंटघाटका क्रममा अध्यक्ष यादवले जारी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको बलिदानी तथा घाइतेहरुको पीडाको मूल्य चुकाउन आफूहरु पछाडि नहट्ने बताए । धैर्यताका साथ आन्दोलनलाई निरन्तरता दिएर निर्णायक बनाउन अध्यक्ष यादवले त्यहाँ उपस्थित जनसमुदायसँग आग्रह गरे ।
उक्त टोलीमा फोरमकी केन्द्रीय उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्यद्वय सूर्यनाथ यादव, शैलेन्द्र प्रसाद साह, नेता शम्भु झा, फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता सुभाष यादव, जिल्ला सचिव उमेश यादव, शिवशंकर यादव, सदस्य केदार यादव, दयानन्द गोइत, युवा विद्यार्थी मोर्चा सप्तरीका सह–संयोजक तारकेश्वर यादवलगायतको नेताहरु सहभागी थिए ।