• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सहीदहरुको शव यात्रापछि अन्तिम संस्कार गरिँदै

सहीदहरुको शव यात्रापछि अन्तिम संस्कार गरिँदै

राजविराज, ११ मंसिर । मधेशी मोर्चा सप्तरीको शुक्रवार सम्पन्न बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका चारै जनाको शवयात्रा शनिबार विहान निकालिने भएको छ ।
मोर्चाका सुचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा जानकारी दिएका हुन् । मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न बैठकले गत शनिबार र आइतबार आन्दोलनको क्रममा शहादत प्राप्त गरेका डाढा गाविसका बलिया–बथनाहा निवासी बिरेन्द्र राम ,जमुनी मधेपुरा–९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा ४ प्रसाही टोलका शिबशंकर दास र राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साहको संयुक्त शवयात्रा निकाल्ने निर्णय गरेको छ ।
शहिदहरुको पार्थिव शरीर शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा गजेन्द्र चौकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तथा सोही दिन बिहान ८ बजेदेखि सप्तरी सदरमुकाम राजविराज, रुपनी, शम्भुनाथ, कदमाहा हुँदै सिरहाको लहानस्थित शहिद रमेश चौकमा श्रद्धाञ्जली अर्पण गरी कञ्चनरुप नगरपालिका र भारदह, मंसापुर हुँदै राजविराजमा श्रद्धान्जली अपर्ण गर्दै शवयात्रा सम्पन्न गर्ने निर्णय भएको संयोजक मण्डलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । शवयात्रा तथा श्रद्धान्जली कार्यक्रममा व्यापक रुपमा सहभागिताका लागि मोर्चाले बृद्धिजीवी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, युवा, विद्यार्थी, मजदुर, व्यवसायी, शिक्षक, प्राध्यापक, किसान तथा न्यायप्रेमी जनतामा मोर्चाले अनुरोध गरेको छ ।