• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्वास्थ्य सेवा सुचारुको पहल गर

सप्तरीमा चार दिनदेखि चिकित्सा क्षेत्र ठप्प छ, जसका कारण सर्वसाधारण जनता उपचार सेवाबाट बञ्चित भएका छन् । सुरक्षाकर्मीले अस्पताल परिसरमै प्रवेश गरी ड्युटीमा रहेकादेखि आवासमा वसिरहेका स्वास्थ्यकर्मी र कर्मचारी समेतलाई कुटपिट सँगै अभद्र व्यवहार गरेको विरुद्धमा चिकित्सकहरु आन्दोलित भएका हुन । उनीहरुको आन्दोलनलाई समर्थन गर्दै जिल्लाभरिका स्वास्थ्य संस्था समेतले सेवा ठप्प पारेका छन् । दोषी प्रहरीमाथी कारवाहीसँगै सुरक्षाको प्रत्याभूतिकालागि आन्दोलनरत स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीको माग पूरासँगै अवस्था सहज बनाउनेतिर जिम्मेवार पक्षले ध्यान पुग्न नसक्दा आन्दोलनकारीप्रति समर्थन जनाउनेहरुको संख्यामा बृद्धि हुँदैछ । अन्य संघ संस्थाले समेत आन्दोलनप्रति ऐक्यबद्धता र समथन जनाउन थालेका छन् । मधेश आन्दोलकनका क्रममा सप्तरीमा प्रहरीले स्वास्थ्यकर्मी मात्र होइन, स्थानीय सञ्चारकर्मीउपर समेत दुव्र्यवहार गरेको विरोेधमा बुधबार नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले सदरमुकाममा प्रदर्शन गरेका छन् ।
स्वास्थ्यकर्मी र पत्रकारलाई समेत दुव्र्यवहार र कुटपिट गर्न प्रहरी उद्दत भएपछि यसको व्यापक विरोध हुन थालेको छ । अहिले मधेशमा जारी आन्दोलनको समयमा सुरक्षा खोज्दै जिल्लाभरिका स्वास्थ्यकर्मी आन्दोलित हुनु भनेको गम्भिर विषय हो । आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी वा सर्वसाधारण जोकोहि घाइते हुनसक्ने र उनीहरुकालागि तत्कालै उपचारको व्यवस्था आवश्यक रहने कुरा उल्लेख गरी रहनुपर्ने विषय होइन । तर, यो कुरा यति गम्भिर रहँदारहँदै पनि स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनलाई कसरी साम्य पार्न सकिन्छ भन्नाकालागि सार्थक पहल भइरहेको देखिन्न ।
स्वास्थ्यकर्मीको आन्दोलन र मागका बारेमा सम्बद्ध पक्षले पहलकदमी लिएर यस्तो विषय अवस्था नलम्बियोस् भन्नेतिर सक्रियताका साथ लाग्नु जरुरी देखिन्छ । अर्कोतिर स्वास्थ्य संस्थामा शान्ति सुरक्षासँगै भयमुक्त तवरले सेवा प्रवाह गर्न सक्ने उपयुक्त वातावरण निर्माण गर्नुपनि उत्तिकै आवश्यक छ । अहिले एक त अत्यावश्यक औषधि समेतको आपूर्तिमा उत्पन्न असहजताका कारण जनताले स्वास्थ्योपचार सरल, सुलभ तरिकाले पाउन सकिरहेका छैनन् ।
यस्तो परिस्थितिमा स्वास्थ्यकर्मी समेतले आफूलाई असुरक्षित महशुस गरेर आन्दोलनमै उत्रनुपर्ने अवस्था आउनु भनेको पीडामाथि पीडा थपिएको अवस्था नै मान्नु पर्छ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुले आफूमाथि कुटपिट र दुव्र्यवहार भएपछि आन्दोलनमा उत्रेपनि अस्पतालबाहिर टेण्टमा भएपनि आकस्मिक उपचार थालेका छन् । मानवीय भावनाले प्रेरित भएरै उनिहरुले यस्तो प्रतिकुल अवस्थामा पनि आकस्मिक सेवालाई निरन्तरता दिएका हुन् । जिल्लाभरिकै स्वास्थ्य केन्द्रमा आबद्ध भएको उपचार सेवा सुचारु गर्न, गराउन पनि समयमै पहल अवश्यक छ, त्यसो भएमात्र सर्वसाधारणले सहज उपचार पाउन सक्ने छन् ।