राजविराज, ८ मंसिर । विगत तीन दिनदेखि तनावग्रस्त बन्न पुगेको सप्तरी सदरमुकाम राजविराज मङ्गलवारदेखि स्थिति केही सहज बन्नथालेको छ ।
शनिवारदेखि अशान्त बनेको राजविराज, भारदह, रुपनी, बिसनपुर, कदमाहालगायतका स्थानहरुमा केही खुकुलो महशुस गरिएको छ । जिल्लाको विभिन्न स्थानहरुमा सुरक्षाकर्मीहरुद्वारा भइरहेको नृशंस हत्या एवम् क्रुर दमनको अविलम्ब रोक्न तथा स्थितीलाई सहज बनाउन नागरिक समाज, सञ्चारकर्मी, अधिकारकर्मीसमेतको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालको ध्यानाकर्षण गराएका थिए । उक्त टोलीले प्रहरी र प्रदर्शनकारी बीचको दोहोरो झडपको अवस्थाले आमजनताको जनजीवन कष्टकर बन्नुका साथै त्रासदीपूर्ण अवस्था श्रृजना भएको भन्दै मानवीय क्षति कम गर्नका लागि प्रहरीलाई संयमित बनाउन आग्रह गरेका थिए ।
नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दास, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, पत्रकारहरु जितेन्द्र कुमार झा, चन्दन कुमार यादव, सहीद परिवारका धर्मपाल राउतसमेतको टोलीले प्रहरी उपरीक्षक ढकालको ध्यानाकर्षण गराएपछि उनले सकारात्मक रुपमा लिएका थिए । आफूहरु संयमित रहेको भन्दै जिल्ला प्रहरी कार्यालयको गेटमा ढुङ्गामुढा गर्नुका साथै पेट्रोल बम प्रहार भएको पाएपछि राजविराजमा जिल्ला प्रहरी कार्यालयको सुरक्षाकालागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक ढकालले टोलीसमक्ष कुरा राखेका थिए ।
मङ्गलवारदेखि शहीद दशन चौक, मिनी मार्केट, गजेन्द्रचौकलगायतका स्थानहरुमा प्रहरी नपठाउन तथा अनावश्यक रुपमा अश्रँृग्यास, लाठीचार्ज तथा गोली नचलाउन आग्रह गर्दै उक्त टोलीले जिल्ला प्रहरी कार्यालयको गेटमा ढुङ्गामुढा नगर्नका लागि मधेश मोर्चासँग आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुरुप मङ्गलवार राजविराजमा प्रहरी सडकमा उतार्ने काम रोकिएपछि बजारको अवस्था केही सहज हुँदैगएको छ ।
बिहान मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर नाराबाजी गर्न थालेपछि प्रहरीहरु गेटमा आएपछि नागरिक समाजका कार्यवाहक अध्यक्ष भन्सालीसहितको टोलीले मोर्चाका नेतृत्ववर्ग तथा प्रहरी उपरीक्षक ढकाललाई संयमित हुन आग्रह गरेका थिए । सोही अनुरुप दुवैपक्षले नागरिक समाज, पत्रकार, अधिकारकर्मी समेतको मौखिक आग्रहलाई स्वीकार गरेपछि तीन दिनदेखि अशान्त बनेको राजविराजको जनजीवन सामान्यतर्फ उन्मुख हुँदैगएको छ ।
उक्त टोलीले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुसँग भेटेर घटनाबारे जानकारी आवश्यक पहल थाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी आन्दोलनका क्रममा सहादत भएकाहरुको शवको विषयमा तथा मोर्चाले अघि सारेको मागको विषयमा निर्णय लिन सर्वपक्षीय बैठक बोलाउनका लागि पहल थालिएको भन्सालीले जानकारी दिए ।