राजविराज, ८ मंसिर । सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा प्रहरी कार्वाहीमा परी मृत्यू हुनेको संख्या चार पुगेको छ भने घाइतेहरुको संख्या करिब करिब चार दर्जन पुगिसकेको छ ।
प्रहरीले आइतवार साँझ चलाएको गोली लागेर राजविराज–१ निवासी दिलिप कुमार साहको मृत्यू भएको छ । आन्दोलनकारी र प्रहरी बीचको झडप भइरहेको दृष्य आफ्नै घरको दोस्रो तल्लाबाट हेरिरहेको अवस्थामा साहलाई गोली लागेको थियो । निधारमा गोली लागेपछि उनी तत्कालै भुइँमा पछारिएका थिए । 
करिब ४० वर्षिय साहलाई तत्कालै उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिए पनि स्वास्थ्यकर्मीहरुले सेवा ठप्प राखेका कारण उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने क्रममा बाटामै मृत्यू भएको छ । उनीसँगै खेलिरहेकी १० वर्षिय छोरी मुस्कानलाई समेत हातमा गोलीको छर्रा लागेको छ । उनको राजविराजमै प्राथमिक उपचार भइरहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय अगाडि लगाइएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर आइतवार विहान सप्तरीको जमुनी मधेपुरा–३ पर्साहीका १८ वर्षीय शिवशंकर दासको मृत्यू भएको छ । साइकल चढेर आउँदै गर्दा काँडेतार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
उपचारकालागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिए पनि तत्कालै मृत्यू भएको छ । प्रशासन कार्यालयको सुरक्षार्थ विगत सवा तीन महिनादेखि सुरक्षाकर्मीले काँडेतार राखेर सुरक्षा दिँदैआएका थिए ।
यस्तै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउने क्रममा शनिवार राती प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमा मृत्यू भएको छ भने दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । 
जिल्लाको भारदहमा प्रहरीले चलाएको गोलीबाट डाढा–७ का २२ वर्षीय विरेन्द्र रामको घटनास्थलमै मृत्यू भएको छ । सोही क्रममा करिब दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् ।
प्रहरीको गोलीबाट गम्भीर घाइते भएका पोर्ताहा–५ का राजेश कुमार यादव, डिमनका छुतहरु साहसहित ८ जनालाई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 
यसैगरी रुपनीमा समेत प्रहरीले गोली चलाउँदा जमुनी मधेपुरा–९ छपकीका २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यू भएको छ । सोही क्रममा दर्जनौ आन्दोलनकारीहरु घाइते भएका छन् ।
सप्तरीको भारदह र रुपनीमा प्रहरी दमनमा परी घाइते भएकाहरुको तस्विरः
तस्विर सौजन्यः रामनारायण विश्वास÷राजविराज