अस्पतालको सेवा टेन्टबाटै सञ्चालन गर्ने
राजविराज, ६ मंसिर । प्रहरीको अराजक शैली विरुद्ध गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित सप्तरी जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।
अञ्चल अस्पताल परिसरमा सोमवार बसेको स्वास्थ्यकर्मीहरु संगठनहरुको संयुक्त बैठकले तीन सूत्रीय माग राख्दै यस्तो निर्णय गरेको हो । सप्तरीका नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्नेमासहित तीन सूत्रीय माग अघि सारेका छन् । माग पुरा नभएसम्म जिल्लाभरिका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरु बन्द गरी अञ्चल अस्पतालको सेवा टेन्टबाट सञ्चालन गर्ने तथा चिकित्सक, स्वास्थ्यकर्मी, ल्याब, एक्स–रे, लगायत निजी क्लिनिकहरु समेत बन्द गर्ने निर्णय भएको छ । बैठकमा जिल्लाभरीका अस्पताल, स्वास्थ्य संस्था, सरकारी कार्यालय, चिकित्सक, क्लिनिक, पेशागत संघ–सङ्गठनका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।