राजविराज, ३० कार्तिक । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा गरिएको तालाबन्दी महासंघको विधि विधान र मान्यता विपरित भएको भन्दै सचिव ओमप्रकाश साहले खेद व्यक्त गरेको छ । शाखामा उत्पन्न समस्या स्थानिय तहमा समाधान हुन नसके वा शाखाका गतिविधिमा चित्त नबुझे महासंघकै माथिल्लो तहमा उजुरी गर्ने र समाधान खोज्ने अवस्था हुँदाहुँदै बारम्बार तालाबन्दी गरी महासंघका गतिविधिलाई अबरुद्ध गर्न खोज्नुलाई अराजकताको पराकाष्ठा भएको सचिव साहद्वारा मङ्गलवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघ विरुद्ध गरिएका गतिविधिका सन्दर्भमा शाखाले देखाएको शालिनता र भद्रतालाई कमजोरी ठानी बारम्बार भ्रम सृजना गर्न खोजिएको भन्दै यस्तो भ्रममा नपर्न सम्वन्धित सबैमा जानकारीको लागि विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
शाखामा प्रकाश खतिवडाको नेतृत्वमा नयाँ कार्य समिति चयन भए देखि नै अध्यक्षमा पराजित जितेन्द्र खड्गाले विभिन्न बहानामा शाखाका गतिविधिमा बाधा अबरोध गर्ने प्रयत्न गर्दै आएको आरोप लगाएको छ । सहयोगको भावनाले अघि बढ्नु पर्नेमा विभिन्न बखेडा झिकेर विवाद सृजना गर्न खोज्नुलाई पराजित मानसिकताका उपज भएको विज्ञप्तिमा उल्लेख छ ।
आफूले भने अनुसार नहुँदा शाखा अध्यक्ष मात्र नभई उपाध्यक्ष , सचिवलगायतका पदाधिकारी तथा सदस्यहरुलाई समेत विवादमा मुछी भ्रम सृजना गर्न खोज्नु र २०७२ कात्तिक १८ गते शाखाकै कार्यालय अगाडि सार्वजनिक ठाउँमा खड्गाले आपत्तिजनक ढंगले प्रस्तुत भई गाली गलौज गर्दै धम्कीको भाषा प्रयोग गर्नुलाई आफूहरुले गम्भिरतापुर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।
‘बिगत तीन महिनादेखि तराई मधेश आन्दोलनका कारण ठप्प रहेको अवस्थामा आन्दोलनको मौका छोपी शाखाका विरुद्धको गतिविधिमा लाग्नुलाई धमिलो पानीमा माछा मार्ने प्रयत्नको रुपमा हामीले बुझेका छौं’ पे्रस विज्ञप्तिमा अगाडि भनिएको छ ‘त्यसर्थ त्यसतर्फ गम्भिर हुन सम्बन्धित सबै पक्ष र सरोकारबालाहरुलाई आग्रह गर्दछौं ।
अध्यक्ष वा शाखाकै गतिविधीमा चित्त नबुझे अविश्वासको प्रस्ताव ल्याउन सक्ने बैधानिक प्रावधानलाई दुरुपयोग गरी खड्गासमेतको हस्ताक्षरमा सदस्यहरुको किर्ते हस्ताक्षर गरि प्रस्ताव दर्ता गरिएको स्वयं सदस्यहरुबाटै शाखामा परेको निवेदनबाट प्रष्ट भएको विज्ञप्तिमा जनाईएको छ । सदस्यले प्रत्येक वर्ष नविकरण गर्नुपर्ने बैधानिक व्यवस्था रहेकोमा नविकरण नगरिएको अवस्थामा २०७२ असोज २ गतेको बैठकले असोज २१ भित्र सदस्यता नविकरण गर्न सार्वजनिक सूचना आह्वान गरिएकोमा त्यसलाई समेत वेवास्ता गरि अविश्वासको प्रस्ताव दर्ता गरिएकोमा बैधानिक जटिलता उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
शाखामा उत्पन्न समस्या निराकरणका लागि पुर्वाञ्चल संयोजक र सह–संयोजकलाई जिम्मेवारी तोकिएको भनि कार्तिक १७ गते ईमेल मार्फत जानकारी प्राप्त भएकोमा केन्द्रको पहलकदमीलाई समेत वेवास्ता गरिएको विज्ञप्तिमा जनाइएको छ । बन्द हडतालकै बीचमा आफूलाई केन्द्र भन्दा माथि राखि स्वघोषित गतिविधि गर्न खोज्नुलाई समेत आफूहरुले असामान्य ठानेका महासंघका सचिव साहद्वारा प्रेषित उल्लेख छ ।
नेतृत्वमा रहने वा नरहने विषय महासंघको विधानले निर्देशित गर्ने विषय भएको भन्दै कसैको लहड र सनककै भरमा उक्त कार्य कदापी हुन नसक्ने जनाइएको छ ।
शाखाका निर्वतमान अध्यक्ष प्रकाश खतिवडालगायत जिम्मेवार पदाधिकारीहरुको बिधान बिपरितको क्रियाकलाप र मनोमानी विरुद्ध आइतवार पुनः शाखाको मुलगेटमा तालाबन्दी गरिएको छ । सत्यतथ्य एवम् वास्तविकता बुझेर समाचार सम्प्रेषण समेत प्रेस विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।