• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा दुई दिनकालागि बैंक सुचारु

राजविराज, २३ कार्तिक । आन्दोलनका कारण सप्तरीमा करिब तीन महिनादेखि बन्द रहेको बैकिङ्ग कारोबार सोमवारदेखि सुचारु भएको छ ।
दिपावली तथा छठलगायतका पर्वहरुलाई मध्यनजर गर्दै मधेशी मोर्चा सप्तरीले दुई दिनकालागि बैंकहरु सुचारु गर्न दिने निर्णय अनुसार जिल्लामा सञ्चालित सरकारी तथा निजी बैंकहरु सुचारु भएको हो । सोमवार र मङ्गलवार दुई दिनमात्र बैंकहरु खुल्ने भएका कारण ग्राहकहरुको चाप बढेको छ । विहान ८ बजेदेखि नै चेक साट्न तथा रकम जम्मा गर्नका लागि ग्रामिण भेगमा सर्वसाधारण जनताहरु आएका थिए । बैंकहरुले ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै काउण्टर थपेका छन् । ग्राहकहरुको अत्यधिक चापले गर्दा कुनै अप्रिय नहोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले सुरक्षाकर्मी समेत परिचालन गरेको छ । राजविराज स्थित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायत निजी बैंंकहरुमा ग्राहकहरुको व्यापक भींड लागेको छ ।
लामो बन्दले गर्दा सर्वसाधारण जनजीवन अति कष्टकर बनेको अवस्थामा चाडपर्व समेतलाई मध्यनजर गर्दै आन्दोलनका अन्य कार्यक्रमहरु जारी राख्दै दुई दिनका लागि बैंकहरु सञ्चालन गर्न दिएको मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाले जानकारी दिए । दुई दिनका लागि मात्र आफूहरुले आमजनताको विशेष आग्रहमा बैंक खोल्न छुट दिएको भन्दै दुई दिनबाहेक कुनै पनि बैंकले कारोबार गरेको पाइएमा आफूहरुले त्यस्ता बैंकलाई नछाड्ने चेतावनी समेत उनले दिए ।