
रामरिझन यादव
समकालीन नेपालको साहित्यआकाशमा खगेन्द्र संग्रौलालाई छुन सक्ने सामथ्र्य कसैमा छैन । उनको साहित्य सिर्जनाको आफ्नो कायदा छ । आफ्नै ढंग छ । छुट्टै हैसियत छ । लेखनको अलग्गै कला छ । बोलीमा विविधता छ । शब्दमा दम छ । उत्पीडनको विरुद्धमा लेख्ने हिम्मत छ । सत्यको पक्षमाएकलो हिड्ने वानी छ । त्यसैले त सत्तर काट्न लागेका संग्रौलामा अहिले पनि युवा सरह नै उत्साह छ । दिनको सोह्र घन्टा खट्न सक्ने उर्जा संग्रहित छ । चिया–चुरोटका अमली संग्रौलामा यो अपार उर्जाको स्रोतको उनको इच्छा शक्तिहो ।
सिर्जनात्मक कलाका धनी संग्रौला विगत पाँच दशकदेखि साहित्यसिर्जना गर्दा कहिले पनि पद, पैसा र प्रतिष्ठाप्रति आशक्त भएको देखिन्न । मूलतः उनले आफ्नो साहित्यिक फाँटको विधालाई तल्लो वर्गको उत्थानसंग गाँसेका छन् । कलमको मसीको प्रचूर मात्रा पनि त्यसैमा खर्च गरेका छन् । पहिलो संविधान सभाले संविधाननिर्माणको प्रक्रिया थालेदेखि अन्त्यसम्म संग्रौलाले मधेश र मधेशी, दलित, आदिवासी जनजातीको हकमा कोरेका शब्दहरुले इतिहास निर्माण गरेका छन् । ती रचनाहरु मार्मिक मात्र होइन बोधगम्य पनि छन् । र, शायद त्यसैले होला सधंै झै यसपाली पनि आन्दोलनको प्रत्यक्षदर्शीको रुपमा उहाँ मधेश झर्नुभयो ।पूर्वी मधेशका केही जिल्लाहरुको अवलोकन गर्नुभयो । तर मधेशमा देखिएको राजनीतिभित्रको विभाजित मनोविज्ञानले संग्रौलालाई प्रभावित पार्न सकेनन् । यद्यपि उहाँले खुलेयाम मधेशीजनताको मुक्तिको पक्षमा आफ्नो धाराप्रवाह मन्तव्यवाट सवैको मनमस्तिष्कमा अमिट छाप छोड्न सफल हुनुभएको छ । मधेशीजनताको मुटुको स्पन्दन हुनुभएको छ ।
अहिले मधेश आन्दोलन उत्कर्षमा हुुँदा संग्रौला जस्तो मधेशी जनताको पक्षमा कलम चलाउने लेखकहरुको भ्रमण स्वभाविक हो । पहिलो मधेश आन्दोलनताका झण्डै वहाँको टाउको फुटालिएको थियो । तर यसपाली उनले सामान्य कठिनाई बाहेक त्यस्तो कुनै अप्ठ्याराको सामना गर्नु परेन । सहजै बर्दिवासवाट सिरहासम्मको बाटो काट्नुभयो । उहाँको भ्रमणलाई फलदायी बनाउन गरिएको प्रयासमा सूर्य ग्रहण त्यतिवेला लाग्यो जतिवेला मधेशमा राजनीतिभित्र राजनीतिले प्रवेश पायो । यसको आभाष लहानको कार्यक्रमले दिएपनि राजविराजले त्यो तिक्ततालाई सहजै मेटायो । तर जनकपुरमा देखिएको यसको घनिभूत असरले कार्यक्रमलाई नै प्रभावितपार्यो । झण्डै कार्यक्रम स्थगितगर्नु परेको थियो ।
नेपालको समकालीन राजनीतिले धु्रवीकरणको पराकाष्टा नाघेको वेला संग्रौलाको यो पूर्वी मधेशको भ्रमणवाट मुलुकले केही त्राण पाउछ भन्ने उद्येश्यसहितको विचार नै उहाँको मधेश गमनको कारण बन्यो । निहुँ थियो जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठा सिरहाद्वारा आयाजना गरिने कार्यक्रममा छात्राहरुको छात्रवृतिवितरण । संगसंगै उहाँलगायत अन्य केही समदृश्य कलमजिवीहरुको कदर, जसले प्रतिकूल परिस्थितिको बाबजूद आफ्नो लेखनीलाई मधेशीजनताको नाममा समर्पित गरेका छन् । तर यो विचारले मूर्त रुप प्राप्त गर्नुभन्दा पहिले नै ग्रहण लाग्ने देखियो । पहाडी र मधेशी वीचको ध्रुवीकरणले केही असजिलो परिस्थितिको सृजना हुन सक्ने मनसायसहितका विचारहरु प्रकट भए । तर विषम तथा प्रतिकूल परिस्थितिको सामना गरेर भए पनि अहिलेको मधेशको भूमिलाई सिंञ्चित पार्ने उपाय यो भन्दा अर्को मैले देखिन्न । किनकि समकालीन नेपाली लेखनवृतमा दलनलाई आधार बनाएर कलमचलाउने संग्रौलावाहेक अर्को पात्रको पनि खोजी गर्न सकिन्छ । तर मधेशको पक्षमा आगो ओक्लिने गरि शब्द कोर्ने हिम्मत र साहस संग्रौलाबाहेक अर्को कुनै पहाडीमा भेटिन्न । त्यसैले यही सोच र दृष्टिकोणलाई नै यसयात्राको पृष्ठभूमि बनाइयो ।
संविधानमा हस्ताक्षर गरेकाहरु मधेशी नै किन न होस् अहिले तराई टेक्न सक्दैन । पहाडी नेताको लागि यो दिल्ली दूरको कुरा हो । संविधान घोषणाको उन्मादमा मनाइएको दीपावलीले मोटो विभाजन रेखा कोरेको छ । पहाडमा उत्साह तथा मधेशमा मातमको यो मौसममा कुनै पहाडीलाई मधेशमा दोसल्ला ओढाएर सम्मानको गाथा गाउनु चानचुने कुरा होइन । मधेशमा देखिएको आक्रोशले यसलाई विथोल्न सक्ने प्रचुर सम्भावनाको बाबजूद यो रिस्कले अन्ततोगत्वा सफलता नै हातलाग्यो । यसको मूलकारण मधेशी समुदायमा धेरै पहिलादेखि नै खगेन्द्र संग्रौला, राजेन्द्र महर्जन(अस्वस्थताको कारण जानुभएन)तथा युग पाठकप्रति सदाशयताको भावप्रवाहित भैसकेको रहेछ । उहाँहरुको लेखनीले मधेशीजनताको मनमस्तिष्कलाई छेकिसकेको रहेछ । त्यसैले उहाँहरु जहाँ पनि जानुभयो सह्दय सम्मानको भागिदार बन्नुभयो ।
यात्राको प्रथम पडाव वर्दीवास बन्यो । यो ठाउँ तराई मधेशको भूमिमा अवस्थित भएपनि अढाइ महिनाको बन्दले यसलाई छोएको देखिन्न । त्यसैले पूर्वी तराईको स्थलमार्गको सवैभन्दा सुगम वाटो वि.पि राजमार्ग भएको रहेछ । दुईगुणा तीनगुणा भाडा तिरेर भए पनि यात्रुहरु गन्तब्यतिर जान बाध्य छन् ।
बर्दीवासमा टाटासुमोले छाडेपछि मोटरसाइकलको यात्राबाहेक अर्को विकल्प रहदैन । सत्तर छुन दस दिन बाँकी रहेका संग्रौला जस्ता लेखकलाई टाटासुमो चढाउनु र बर्दीवासवाट सवा सय किलोमिटर मोटरसायकलमा सिरहाको सन्हैठा लानु आफैमा दुस्साहस कार्य हो । तर परिस्थितिले यो बाहेक अर्को बिकल्प उपलब्ध नगराएपछि सन्हैठा पुग्नु बाध्यता थियो, जहाँ उहाँहरुको सम्मानका खातिर मधेशी समुदाय प्रतिक्षारत थिए ।
आयोजक संस्थाको सन्तानवे वर्षे किसान हजुरवुवाले लेखकद्वय संग्रौला र पाठकलाई दोसल्ला ओढाएपछि उहाँहरु भावविभोर हुनुभयो । सधै किसानमजदूरको हकमा लेख्दालेख्दै उमेर बिताएका संग्रौलाको लागि यो सखद क्षण थियो । मधेशमा बढदो समुदायिक धु्रवीकरणलाईन्यूनीकरण गर्न गरिएको प्रयास केहीहदसम्मसफलभयो । तर सफलताले त्यतिवेला उचाई छोयो जतिवेला लेखकद्वयले मधेश र मधेशीको समस्या र यसका समाधानका उपायहरुलाई सरल र बोधगम्य ढङ्गले मधेशी जनता सामु पस्के । यसले गर्दा मधेशी समुदायमा सोलोडोलो पहाडीप्रति रहेको सोचलाई रुपान्तरण गर्न उनीहरु सफल भए । पहाडीहरु पनि मधेशीको पक्षमा बोल्दा रहेछन् भन्ने कुराको विश्वास दिलाउन उनीहरु सफल भए । यसप्रकारको विचारले यात्राभरि निरन्तरता पायो ।
राजविराजमा गाउँगाउँबाट जम्मा भएको भीडले अझ यसमा उत्साह थप्यो । त्यसैले नेता चौकको संग्रौलाको ओजपूर्ण भाषणले सप्तरी सिञ्चित भएको महशुस धेरैले गरेका छन् । त्यसैले मैथिली साहित्य परिषदले पाग र गम्छावाट लेखकद्वयलाई सम्मान गरे । जनकपुरले त मिथिलाञ्चललाई मात्र होइन सिङ्गो मधेश अझ मुलुकमा नै उहाँहरुको विचार प्रवाह गरेर संग्रौलाको मधेश भ्रमणको महतालाई पुष्टि गर्ने काम गर्यो । तर सवैभन्दा सुखद संयोग त्यतिवेला जोडिन पुग्यो जतिवेला डा. बाबुराम भटराईले आफ्नो मिनीगोलमेच सम्मेलनकालागि राजधानीका प्रायः धेरैजसो लब्धप्रतिष्ठित ब्यक्तिहरुलाई आमन्त्रण गरेको वेला साहित्यकार संग्रौलाले धाराप्रवाह मधेशको अनुभूतिलाई छोटो समयमा प्रवाहित गर्न सफल हुनुभयो ।
मधेशको आन्दोलनभारतवाट सञ्चालित छ भन्ने कुराको पत्यारिलो खण्डन शायदै कुनै श्रोतले योभन्दापहिले सुनेको होला । भरखरै मधेशवाट काठमाण्डौ टेकेका संग्रौलाले आफ्नो थकित अनुहारवाट करिव एक साताको अनुभूति पस्किरहँदा श्रोताहरुको अनुहारमा उत्सुकताको भाव झल्किन्थ्यो । मानौ मधेश अन्यत्र कही जान लागेका त होइनन् †
(लेखक मैथिली भाषा, साहित्य तथा राजनीतिक विषयमा सशक्त रुपमा कलम चलाउँछन् ।)