• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वार या पारको आन्दोलन गर्नुपर्नेमा जोड

राजविराज, १३ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा शुक्रवार विरोधसभाको आयोजना गरेको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले राज्यपक्ष मधेशको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच पटक–पटक वार्ता भए पनि बिना निष्कर्ष टुङ्गिने गरेकोप्रति आक्रोश व्यक्त गर्दै राज्यपक्षलाई बाध्य बनाउने खालका आन्दोलन गर्नुपर्नेमा वक्ताहरुले जोड दिए । लामो शान्तिपूर्ण आन्दोलनलाई राज्यले उपहास गर्ने गरेको प्रष्ट्याउँदै उनीहरुले वार या पारको आन्दोलन गर्नुपर्ने उनीहरुले तर्क प्रस्तुत गरे ।
सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा आयोजित सभामा राजनीतिकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, किसान मञ्चका केन्द्रीय महासचिव अमरकान्त झा, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, सह–संयोजक तारकेश्वर यादव, संघीय समाजवादी फोरम नेपालकी रमिला कुमारी साह, पञ्चदेव यादव, फूलचन सदा, विशाल यादव, तुफान मधेशी, शिक्षक कपलेश्वर मण्डललगायतले मन्तव्य व्यक्त गरेका छन् । सोही सभामा जनकलाकार बसीर उद्दीनले मधेश आन्दोलन सम्वन्धी गीत प्रस्तुत गरेका छन् ।