• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, १२ कार्तिक । राजविराज नगरपालिका वडा नम्वर–१ स्थित कल्याणपोष्ट दैनिक पत्रिकाको कार्यालयमा बुधवार राती चोरी भएको छ ।
सटरको ताला फुटाएर कार्यालयभित्र पसेका चोरले पत्रिकाको सञ्चार उपकरणहरु चोरेर लगेको हो । नेपाल पत्रकार महासंघ शाखाको ग्राउण्ड फ्लोर रहेको सटरमा उक्त पत्रिकाको दैनिक कार्य सम्पादन हुँदैआएको थियो ।
कार्यालयबाट ल्यापटप, कम्प्युटरको एलसिडी र क्यामेरा एक–एक थान चोरेर लगेको पत्रिकाका सम्पादक माला कर्णले जानकारी दिएकी छिन् । सदा झैं पत्रिकाको काम सकाएर घर गएको तथा बिहान कार्यालय आउँदा सटरको ताला फुटाएको देखेपछि मात्र चोरी भएको विषयमा थाहा पाएको उनले जानकारी दिईन् । कार्यालयमा चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराएको उनले बताईन् ।

यसैबीच गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले पत्रिकाको कार्यालयमा भएको चोरीको घटनाप्रति दुःख व्यक्त गर्दै चोरहरुलाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले समेत कल्याणपोष्ट दैनिकको कार्यालयमा चोरी गरी सञ्चार उपकरण लगेको घट्नाप्रति भत्र्सना अविलम्ब चोरहरुलाई पक्राउ गरी कानूनी कार्वाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
यसैगरी कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. अध्यक्ष शिवनारायण साहले समेत पत्रिकाको कार्यालयमा गरिएको चोरीले आफूलाई चिन्तित तुल्याएको भन्दै दोषीलाई कार्वाही तथा सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीका संयोजक जितेन्द्र खड्गाले पत्रिकाको कार्यालयमा भएको घटनाले आफूलाई चिन्तित तुल्याएको भन्दै चोरलाई पक्राउ गरी कार्वाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
यस्तै छिन्नमस्ता सञ्चार समूह प्रा.लि.का अध्यक्ष शैलेन्द्रमोहन झाले समेत पत्रिकाको कार्यालयमा भएको चोरीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।