राजविराज, ११ कार्तिक । आन्दोलनलाई सशक्त बनाउँदै मधेशी मोर्चा सप्तरीद्वारा राजविराजमा बुधवार बृहत मसाल जुलुस प्रदर्शन गरिएको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात सहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभामा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादवले वर्तमान सरकार सत्ताको खेलमा लागेर मधेस आन्दोलनलाई बेवास्ता गरेको बताए । माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।
मोर्चाका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित विरोधसभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विनोद चौधरी, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, राजनीतिकर्मी सत्यनारायण यादव, राष्ट्रिय मधेश समाजावादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, नेकपा–माओवादीका भूपेन्द्र यादव, नेकपा माओवादीका बैजनाथ यादव, सगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष नुरुल होदा अन्सारी, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, लक्ष्मण यादवलगायतले मन्तव्य व्यक्त गरेका छन् ।