• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अवस्था सहज बनाऊ

करीब अढाई महिनादेखि मधेशमा जारी आन्दोलनले देशभरिकै जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ । जनताले लामो समयदेखि बन्दको सास्ती भोग्नु परिरहेतापनि सरकार लगायत जिम्मेवार राजनीतिक दलहरुले यसलाई गम्भिरताका साथ लिन सकिरहेका छैनन् । दुई–चार पटक आन्दोलनकारीसित वार्ता गरिएपनि त्यसलाई अनौपचारिकतामै सिमित गरिएको छ ।
वार्ताबाट नआन्दोलनकारीले आन्दोलन स्थगन गर्न सहमति जनाएका छन् न त उनीहरु यसबाट सन्तुष्ट नै छन् । अघिल्लो सरकारका पालामा आन्दोलनकारीका माग पूरा गर्नका लागि प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव अहिलेसम्म त्यसै थन्किएको छ । नयाँ बनेको सरकारले पनि उक्त प्रस्तावलाई अघि बढाउन पहल गरेको छैन ।
सरकारका सहभागी दलहरुले पनि त्यसबारे आफ्नो धारणा स्पष्ट पारेका छैनन् । बरु आन्दोलनरत मधेशवादी दलहरुसित वार्ताकालागि नयाँ वार्ता टोली गठन त गरिएको छ । टोलीले एक–दुई वार्ता गरेपनि परिणाम चाही अहिलेसम्म शून्यकै अवस्थामा रहनाले जनताले अझै कति सास्ती खेप्नु पर्ने हो, त्यसको यकीन गर्ने अवस्था पनि छैन ।
देशको अवस्था अति गम्भिर रहेकै बेलामा अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिदैछ । आन्दोलनरत मधेशवादी दलहरुले उक्त निर्वाचनमा आफूहरुले भाग नलिने भन्ने धारणा सार्वजनिक गरिसकेका छन् । समग्रमा यतिबेला मुलुकको पहिलो आवश्यकता भनेको अहिले चलिरहेको लामो आन्दोलनलाई कसरी टुंगो लगाउने भन्ने नै हो ।
यो मूल समस्यालाई नटुंग्याईकन गरिएका अरु गतिविधिले जनताले भोग्नु परिरहेको सास्तीको अन्त्य हुन सक्दैन । समस्या समाधानकालागि गरिएको एक दिन मात्रको विलम्बले मुलुकमा करोडौं करोडको नोक्सानी भइरहेको छ । जनताले अति आवश्यक कामकालागि आवागमन गर्न पाइरहेका छैनन्, कतिपयको घरमा इन्धन अभावले चुल्होसम्म बोल्ने अवस्था छैन । यसैगरी विरामीले उपचार सेवा सम्म पाउन छाडेका छन् ।
उद्योग व्यवसाय धराशायी हुन थालेका कारण बेरोजगारी बढ्ने प्रवल सम्भावना चुलिएको छ । त्यसैले आलटाल गरेर समय खेर फाल्ने बेला अहिले छैन । जनतालाई लामो पीडाबाट मुक्ति दिलाउन अविलम्ब समस्याको
निकासकालागि सरकारदेखि सम्पूर्ण राजनीतिक दलहरुको ध्यान केन्द्रित हुनु आवश्यक छ । जनताले जस्तो सुकै कष्ट भोगेर भएपनि अहिलेसम्म धैर्यता राखेका छन् । यो बेला नै समस्याको निकास खोज्ने अवसर पनि हो । सधै यस्तो उकुसमुकुसमा जनताले धैर्यता राखेर साथ दिइरहने छन् भनी आलटाल गरेर वस्तु सरकार र दलहरुका निम्ति भूल पनि सावित हुन सक्छ । त्यसैले शिघ्रतिघ्र अहिलेको संकटको निकासकालागि उपलब्धिमूलक प्रयासको आवश्यकता छ । सरकार र दलहरु जसरी भएपनि अवस्था सहज बनाउनेतिर लाग्नै पर्छ ।