अशोक शर्मा
सखडा, १० कार्तिक । मधेशी मोर्चा छिन्नमस्ता लालापट्टीद्वारा मङ्गलवार सखडा बजारमा मसाल जुलुस र सभाको आयोजना गरियो ।
सयौं युवा तथा स्थानीय वासिन्दाहरुको सहभागितामा निकालिएको मसाल जुलुस गोबिन्दपुर, महुवा र लालापट्टीको विभिन्न भाग परिक्रमा गरेको थियो । मसाल जुलुस प्रदर्शन पश्चात स्थानीय सखडा बजारमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव प्रमुख तीन ठूला दल मधेसको समस्याप्रति गम्भीर हुनुको साटो कुर्सी भागबण्डाको खेलमा लागेको बताए । उनीहरुले वार्ताको नाटक गरेर मधेस आन्दोलनलाई तुहाउन खोजेकोले थप सशक्त भएर आन्दोलन गरी प्रमुख तीन दललाई घुँडा टेकाउने प्रमुख अतिथि यादवले बताए ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य रामनारायण यादव ‘रामबाबु’ले प्रमुख तीन दलले मधेसी जनतामाथि आफ्नो शासन सत्ता कायम राख्ने नियतका साथ अगाडि बढिरहेको बताए । मधेशको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा उनले जोड दिए ।
छिन्नमस्ता लालापट्टी मोर्चाका संयोजक सञ्जय झाको अध्यक्षतामा आयोजित सभामा राजनीतिकर्मी सत्यनारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला उपाध्यक्ष सुरेन्द्रनारायण मण्डल, राजनीतिकर्मी उमेश कुमार साह ‘कमाण्डौ’, नेपाल सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, संघीय समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य विद्यानन्द चौधरी, बिकन मियाँ, रतन मिश्रा, नेपाल विद्यार्थी मञ्चका पुरन मण्डल, बसिर मन्सुरी मोर्चाका स्थानीय सह–संयोजक बैजनाथ यादव ‘बैजु’ लगायतले मन्तव्य व्यक्त गरेका छन् ।