Top_Header_Right_Add

आश्विनशुक्ल सप्तमी ः देवी महासरस्वतीको पूजा

आश्विनशुक्ल सप्तमी ः देवी महासरस्वतीको पूजा

बडा दशैंको सातौं दिन सोमवार घरघरमा तथा देशभरिका देवी मन्दिरहरुमा महासरस्वतीको पूजा–आराधना गरिंदैछ ।
कोतघरहरुमा विशेष विधिले फूलपाती भित्रियाइन्छ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे पूजा–आजा गरिन्छ । संसारमा रहेको अज्ञानता नाश गरी ज्ञानको माध्यमबाट सत्यस्थपना गर्न देवी भवानीले सरस्वतीको रुप लिनुभएको यस दिनमा माता महासरस्वतीको पूजाआजा गरिन्छ ।
महासरस्वतीको अनुकम्पाले साधकलाई साधनाका क्रममा आईपर्ने भ्रम,अपस्मरणबाट मुक्तिको निर्वाध मार्ग मिल्छ । सत्यको जानकारी नभई लौकिक लाभमा मस्त भएका मानिसलाई मन्त्रशक्ति, जपशक्ति,पाठशक्ति संगीतशक्तिको माध्यमबाट जीवनमुक्त बनाउन माता महासरस्वतीले शक्ति प्रदान गर्ने भएकाले उनलाई महासरस्वतीका रुपमा पूजा गरिन्छ । वसन्तपञ्चमीमा माता सरस्वतीका साधकहरुबाट पूजाआजा गरिन्छ भने शारदीय सप्तमीमा शक्ति उपाशकहरुबाट महासरस्वतीको आराधना गरिन्छ । सेताफूलपाती प्रयोग गरेर सरस्वतीका स्तोत्र शुद्धसँग सारस्वत खुल्ने उच्चारण गरी देवीभगवती महासरस्वतीको पूजाआराधना गरिन्छ ।
बिहान महासरस्वतीको पूजा गरेपछि यस दिन साँझ कोटहरुमा फूलपाती भित्रियाउने चलन छ । देवी मन्दिर नजिकै स्थापना गरिएको चण्डिथानबाट वा वनदुर्गबाट कोट वा दशैंघरमा केरा,उखुको बोट,दारिम,अदुवा,हलेदो,मानेको बोट,बेलपत्र, धानकाबाला,जयन्ती, अशोकका पात लगाएत शुभवनस्पतिका पल्लवपालुवा तथा फलफूलको पूजा गरी देवीमन्दिरमा फूलपाती भित्र्याईन्छ ।
परम्परा अनुसार यस दिन गोर्खा दरबारबाट ल्याइएको फूलपाती राजधानी काठमाडौको दशैंघरमा भित्र्याउने चलन छ । गोर्खाबाट ६ जना मगर पुजारीले बोकी ल्याएको फूलपाती काठमाडौको टुँडिखेलमा नेपाली सेनाले हर्ष बढाइँ गरी स्वागत गरेपछि विधिपूर्वक पुजारीहरुले दशैंघरमा भित्र्याउँछन् ।
बडा दशैंको अवसरमा सप्तरीको सखडेश्वरी शक्तिपीठ, कंकालिनी भगवति, राजदेवी, योगिनीमाइ लगायतका देवी मन्दिरहरुमा पूजा–आजा भइरहेको छ । यसैगरी सिरहाको बालासुन्दरी, राजदेवी, जनकपुरको राजदेवी, बाराको गढीमाई, पर्साको गहवामाई, काठमाण्डौको दक्षिणकाली, गुहेश्वरी, धरानको दन्तकाली लगायतका देवी मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुले पूजा–आजा गरिरहेको जनाइएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer