राजविराज, १ कार्तिक । मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिका अध्यक्ष बिजय कुमार गच्छदारले एकलौटी निर्णय गरी सरकारमा सहभागी भएको भन्दै को भन्दै पार्टीका महासचिव, जिल्ला अध्यक्षसहित ८७ जनाले आइतबार पार्टी परित्यागको घोषणा गरेका छन् ।
महासचिव मृगेन्द्र कुमार सिंह यादवले आइतबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरि पार्टी परित्यागको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिक सप्तरीको ५१ सदस्य समितिमध्ये सचिव भोगेन्द्र चौधरी र कोषाध्यक्ष बिन्दु यादवबाहेक अध्यक्ष सत्यानाराण यादव र उपाध्यक्ष उमेश साहसहित ४९ जनाले पार्टीको साधारण सदस्यता समेत परित्यागको घोषणा गरेका छन् ।
संघीय संरचनामा सिमांकन निर्धारण, स्वायत्त थरुहट मधेश प्रदेश, जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारणका लगायतक जारी आन्दोलनले मूर्त समेत नपाएको अवस्थामा थरुहट मधेश आन्दोलनलाई नै समाप्त पार्ने गरी अध्यक्ष गच्छदारले आत्मघाती कदम चालेको सिंहले बताए ।
पार्टी अध्यक्ष गच्छदारले पार्टीको केन्द्रीय कार्य समिति, राजनीतिक समिति, पदाधिकारी समिति लगायत कुनै पनि आधिकारीक अंगको परामर्श वा निर्णय नलिई एकल निर्णयद्वारा थरुहट मधेश बिरोधी शक्तिहरुसँग गठबन्धन गरि उप–प्रधानमन्त्री पदमा बहाल समेत भएको बिषयहरुले कार्यकर्ताहरु मर्माहत भएको उनले पत्रकार सम्मेलनमा बताए । महासचिव यादवले तत्कालै आफूहरु कुनै पार्टीमा नजाने र जारी मधेश आन्दोलनमै लाग्ने प्रतिवद्धता व्यक्त गरे । अधिकार प्राप्तिको लडाईमा प्रत्यक्ष रुपले सहयोग गरेर अगाडि बढ्ने समेत उनले बताए ।