• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय मिडिया पत्रकार सञ्जालद्वारा चियापान कार्यक्रम, ‘आन्दोलनमा स्थानीय सञ्चारमाध्यमको भूमिका सराहनीय’

राष्ट्रिय मिडिया पत्रकार सञ्जालद्वारा चियापान कार्यक्रम, ‘आन्दोलनमा स्थानीय सञ्चारमाध्यमको भूमिका सराहनीय’

1 (2)राजविराज, ३० असोज । सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले मधेशका समाचारहरुलाई राष्ट्रिय सञ्चारमाध्यमले समुचित स्थान नदिईरहेको अवस्थामा स्थानीय सञ्चारमाध्यमहरुले सराहनीय भूमिका निभाएको बताएका छन् ।
राष्ट्रिय मिडिया पत्रकार सञ्जाल राजविराजद्वारा शनिवार नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशका जिल्लाहरुमा जारी आन्दोलनका कारण अवस्था असहज रहेको बताउँदै उनले भने ‘यस्तो विषमपूर्ण अवस्थामा सञ्चारमाध्यमहरुले जिम्मेवार भएर आमजनतालाई सूचना सु–सुचित गर्नुपर्दछ, राष्ट्रिय मिडियाहरुले मधेशका समाचारलाई समुचित स्थान नदिएको भनी गुनासो उठिरहेको अवस्थामा स्थानीय सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका निभाएको छ ।
लामो बन्दले गर्दा जिल्लाको जनजीवन असहज भएको भन्दै त्यसलाई सहज बनाउनका लागि आफूहरुले सक्दो पहल गर्ने प्रमुख जिल्ला अधिकारी ठाकुरले प्रतिवद्धता व्यक्त गरे । हरेक नेपाली जनतालाई शान्तिपूर्ण रुपमा विरोध जनाउने अधिकार रहेको भन्दै हक अधिकारप्राप्तिका लागि आन्दोलन गर्नुलाई नराम्रो भन्न नमिल्ने बताउँदै उनले भने ‘आन्दोलनकारीहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गरोस् यसमा हाम्रो केही भन्नु छैन तर आमजनताको पीरमर्कालाई बुझ्नु जरुरी छ ।’
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले दुई महिनाको निरन्तरको बन्दका कारण जिल्लामा ग्याँस, पेट्रोल, दैनिक उपभोग्य सामानहरुको अभाव रहेको भन्दै आपूर्ति सहज गराउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराए । मधेशको मागलाई सम्बोधन गरेर देशलाई निकास दिनुपर्नेमा जोड दिँदै उनले भने ‘लामो बन्दले जिल्लाको जनजिवन कष्टकर बन्नपुगेको छ, यसलाई सहज बनाउन स्थानीय प्रशासनले ध्यान दिनु जरुरी छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवले आन्दोलनकारीहरुको समाचारलाई राष्ट्रिय मिडियाले स्थान नदिईरहेको भन्दै मिडियाहरुलाई विभेद नगर्न आग्रह गरे । मधेशको समाचार प्रकाशन प्रशारण नगर्ने मिडियाको औचित्य नरहेको भन्दै त्यसमा कार्यरत स्थानीय सम्वाददाताहरुलाई सोच्न उनले आग्रह गरे ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झाले आन्दोलनका क्रममा मधेशका जिल्लाहरुमा समाचार संकलनका क्रममा पत्रकारहरु पीडित भइरहेको भन्दै शान्तिपूर्ण वातावरण समाचार संकलन गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराए । उनले पत्रकारहरुमाथि भइरहेका दव्र्यवहार तथा आक्रमण लगायतका घटनाकामा संलग्न दोषीलाई कार्वाही हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य मुरली प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव, नागरिक समाजका अध्यक्ष थानसिंंह भन्साली, पार्षद हेमशंकर सिंह, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी,  एकिकृत नेकपा माओवादीका विनोद कुमार यादव लगायतले मन्तव्य व्यक्त गरेका छन् । सञ्जालका संयोजक जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्जालकी कोषाध्यक्ष माला कर्ण तथा सञ्चालन सञ्जालका सदस्य जितेन्द्र कुमार झा ‘जितु’ले गरेका थिए ।