काठमाण्डौ, २६ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आन्दोलनका कार्यक्रमहरु जारी रहने बताएका छन् ।
मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु दशैं जस्तो चाडमा पनि आन्दोलनलाई निरन्तरता दिने बताउँदै भने ‘हामी संविधान स्वीकार गरेका छैनौं, हामी अहिले पनि संविधानको विरोधमा छौं, जबसम्म संवैधानिक प्रक्रियाबाट हाम्रा मागहरु पुरा हुँदैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ । हालको व्यवस्थापिका संसद अन्तरिम संविधानको निरन्तरता रहेको बताउँदै उनले आफूहरुले अन्तरिम संविधान मानेको र सोही अनुरुप सञ्चालन भएको प्रधानमन्त्री निर्वाचनमा भाग लिएको तर्क गरे । आफूहरु निर्वाचनमा सहभागी भएको विषयमा अनावश्यक टिप्पणीहरु भइरहेको भन्दै यस विषयमा भ्रम नफैलाउन उनले सम्वन्धित पक्षसँग आग्रह गरे ।
आन्दोलनमा सहादत दिएका सहीदहरुको बलिदानीलाई कुनै पनि हालतमा खेर जान नदिने बताउँदै उनले भने ‘जारी भएको संविधान प्रतिगमनकारी हो, यसलाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौं । संविधान जारी गर्ने दलहरुले नै संविधानमा त्रुटीपूर्ण रहेको स्वीकार गरिसेकोले आन्दोलनका माग जायज भएको पुष्टि भइसकेको उनले बताए ।
वर्तमान गठबन्धन सत्ताको अवसरवादी भएको प्रष्ट्याउँदै उनले भने ‘यो गठबन्धनसँग कुनै पनि सिद्धान्त र योजना छैन, त्यसैले अवसरवादी र प्रतिगमनकारी गठबन्धन विरुद्ध हामीले संसदमा मतदान गरेका हौं । मधेशी मोर्चा सत्ताको खेलमा नलाग्ने बताउँदै फोरम अध्यक्ष यादवले आन्दोलनका मागहरुलाई पुरा गराउन सशक्त आन्दोलन नरोकिने बताए । वर्तमान आन्दोलनमा विजय गच्छदार कतै सहभागी नभएको दावी गर्दै उनले भने ‘गच्छदारजी जहाँ थियो, त्यही गएको छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले जारी मधेश आन्दोलनमा भारतीय जनताको समर्थन रहेको बताए । अहिले सत्तामा पुगेका व्यक्तिहरुलाई पनि उहिले भारत परस्तको आरोप लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने ‘उनीहरु गंगा नुहाएर चोखो भए हामी अहिलेसम्म गङ्गा नुहाएका छैनौं ।