भरत खड्का
उदयपुर, २५ असोज । उदयपुर उदयपुर सिमेण्ट उद्योगको बस सोमबार दिउँसो दुर्घटना हुँदा बीस जना कर्मचारी घाइते भएका छन् । घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।
खानी क्षेत्रबाट कर्मचारी लिएर उद्योगको प्लाण्ट क्षेत्र त्रियुगा नगरपालिका–११ जलजले आउने क्रममा जाल्पाचिलाउने गाबिस–८ सिन्दालीमा दुर्घटना भएको हो । दुर्घटनामा त्रियुगा नगरपालिका–११ का ४९ बर्षीय कुमार परियार, ५२ बर्षीय प्रेमबहादुर मोक्तान, ५५ बर्षीय लक्ष्मी चौधरी, वडा नम्वर–१२ का ५२ बर्षीय नारायणबहादुर थापा, वडा नम्वर–१० का ५४ बर्षीय सिंहबहादुर थापा, वडा नम्वर– १३ का ४४ बर्षीय दुर्गाबहादुर दनुवार, ४७ बर्षीय बिष्णुबहादुर दनुवार, ५० बर्षीय इन्द्रबहादुर तामाङ्ग, वडानं–१४ का ४३ बर्षीय वदत चौधरी, वडानं–१६ का जगदिस पोखरेल रहेका छन् । त्यसैगरी उदयपुरकै रौता गाविस–५ का ४५ बर्षीय लालबहादुर तामाङ्ग, वडानं–९ का ५४ बर्षीय ज्ञानबहादुर लायो, सप्तरीको रायपुर–५ का ५२ बर्षीय विरेन्द्र चौधरी, महोतरी वर्दिबास–२ का ५७ बर्षीय चित्रबहादुर कार्की, धनुषा–६ का ५२ बर्षीय रघुविर झा, सोही जिल्लाको मिथिलेश्वर–२ का ४२ बर्षीय भोला ठाकुर, सर्लाही पिपरिया–२ का ४८ बर्षीय उमेशकुमार झा, सप्तरी राजविराज–९ का ४६ बर्षीय महिनारायण यादव, चितवन भरतपुर नपा–७ का ५० बर्षीय यमप्रसाद भण्डारी, वडानं–१४ का ५३ बर्षीय श्यामचन्द्र मल्ल रहेका छन् । घाईतेहरुमध्ये विरेन्द्र चौधरी, महिनारायण यादव, नारायण थापा, सिंहबहादुर थापा र लालबहादुर तामाङ्गको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरेन्द्र गुरुङ्गले जानकारी दिए ।
उनीहरुलाई थप उपचारकालागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइतेमध्ये कुमार परियारको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने अन्य सबै उपचार पछि घर फर्किएको डिएसपी गुरुङ्गले बताए । २० जना कर्मचारी बोकेर आउँदै गरेको उक्त बस दिउँसो २ः१५ मा ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैगरी ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको बोलेरो जिप दिउँसो ३ बजे लेखानी–२ वानडाँडामा दुर्घटना हुँदा २ जना गम्भिर सहित ७ यात्रु घाइते भएका छन् ।
एघार जना यात्रु लिएर कटारी आउँदै गरेको को.१.ज.२१३७ नम्बरको जिप ओरालोमा व्रेकफेल हुँदा दुर्घटना भएको उनले जानकारी दिए । दुर्घटनामा घाईते भएकामध्ये खोटाङ्ग रतन्छा–३ का २२ बर्षीया रेविका राई र सोही ठाउँका २० बर्षीया कल्पना राई घाईते भएकाछन् । रेविकाको टाउँकोमा गम्भिर चोट लागेको छ । दुबैलाई बिराटगनरस्थित न्युरो अस्पतालमा पठाएको डिएसपी गुरुङ्गले बताए । बाँकी घाईते कटारी अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।