काठमाडौं, २१ असोज ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको काठमाण्डौ स्थितको घरमा स्थानीय युवाहरुको एक समूहले विहीबार तोडफोड गरेका छन् ।
युवाहरुको समूहले नेता महतो विरुद्ध नाराबाजी गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट उनको घरको झ्यालको सिसा तथा झ्याल–ढोकामा क्षति भएको पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले जानकारी दिए । उनले भने ‘राष्ट्रिय अध्यक्ष महतोको घरमा तोडफोडको घटनाले हामी अति चिन्तित एवम् गम्भीर भएका छौं, घटनाको विषयमा पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै यस विषयमा पार्टीका नेताहरु बीच समेत छलफल भइरहेको छ ।’
यता हनुमान ढोका प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले नेता महतोको घरमा तोडफोड नभएको सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् । ‘केही युवाहरुको एक समूह प्रदर्शन गर्न गएको तर प्रहरीले सम्झाएर पठाएको दावी गरेका छन् । नेता महतो हाल जारी आन्दोलनका क्रममा बेलहिया नाकामा रहेको जनाइएको छ ।