Top_Header_Right_Add

भारतीय बामपन्थी पत्रकार बर्मासहित प्रवुद्धवर्गलाई खुल्लापत्र

भारतीय बामपन्थी पत्रकार बर्मासहित प्रवुद्धवर्गलाई खुल्लापत्र

श्यामसुन्दर यादव

 

आदरणीय भारतका प्रवुद्ध व्यक्तित्वज्यूहरु,
सबभन्दा पहिला त तपाईसहित एक सय एघार भारतीय प्रवुद्धवर्गले हालै नेपाल र नेपाली जनताप्रति सदासयता देखाउनु भएकोमा हार्दिक धन्यवाद भन्न चाहन्छु । यहाँसहित एक सय एघार जना प्रवुद्ध वर्गले भारतबाट कुन दुरबिन लगाएर हेर्नुभएको छ ? त्यो दुरबिन ठिक छ कि छैन ? एकपटक अवश्य जाँच गराएर हेर्नुहोला । किनभने यहाँहरुले हेर्नुभएको विग्रेको दुरबिनले गर्दा गलतै देख्नुभएको कुरा यहाँहरुको शैली र व्यवहारबाटै प्रष्ट भएको छ । नेपालको समस्याप्रति अत्यन्तै चिन्तित हुनु भएको भारतका वरिष्ठ बामपन्थी पत्रकार आनन्दस्वरुप वर्माज्यू, यहाँको बारेमा धेरै सुनेका र पढेका थियौं । तर वास्तविकता बल्ल हाम्रासामु छर्लङ्ग हुँदैछ ।

तपाईकै शब्दमा भारत सरकारले आन्तरिक मामिलामा हस्तक्षेप गरेको देख्नुभो । तर यस्तो अवस्था सिर्जना किन भएको हो ? तपाईका आँखाले किन देखेन र तपाईका कलमले किन लेखेन । आफ्नै देशलाई विस्तारवादी भनेर परिभाषित गर्ने वरिष्ठ पत्रकार ज्यू, दुरबीनबाटै नहेरिदिनुस न, एकपटक मधेश आएर आफ्नै आँखाले हेरिदिनुस् हामी मधेशी जनताको तर्फबाट आग्रह छ । यति लामो समयसम्म मधेश किन आन्दोलित छ ? यसको पनि निकास तत्काल खोजिनुपर्छ भनेर तपाईले एकशब्द पनि बोल्नुभएको छैन ।

तपाईहरुले जुन दुरबिनबाट दिल्ली बसेर चियाउनुभो । त्यो दुरबिनमा भारतकै सीमावर्ती क्षेत्रमा वसोवास गर्दैआएका ‘काला मान्छे’हरुलाई देखेनन् होला । भौगोलिक विविधता भएको देशको तराई–मधेश समथर भूँभागमा बसोवास गर्दैआएका कालो छाला भएका मान्छेहरुको दुःख पीडा शायद देख्नुभएन । मित्रराष्ट्र भारतका वरिष्ट पत्रकार भएको नाताले पनि तपाईले चासो राख्नु स्वाभाविकै हो । सुनेको थिएँ तपाईले त शोषण, दमन एवम् विभेदमा पारिएका समुदायको पक्षमा दरो कलम चलाउनुहुन्छ रे । तर वास्तविकता भने त्यस्तो कदापि देखिएन ।

नेपालको मधेशमा जारी आन्दोलनका कारण विगत पौने दुई महिनादेखि मधेश पूर्ण रुपमा अशान्त र ठप्प छ । मधेशमा सरकारको सुरक्षा बाहेकका सम्पूर्ण संयन्त्र फेल भइसकेको छ । टिकापुरसहितका ठाउँहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नपुगेपछि नेपाली सेना नै उतारेको छ । हालसम्म करिब चार दर्जन मधेशी तथा थारु धर्तीपूत्रहरुले ज्यान गुमाइसकेका छन् । देशको आधा जनसंख्या रहेको मधेश आन्दोलित रहेको अवस्थामा आन्दोलनको निकास खोज्नुभन्दा रक्तपातको स्थिति राज्यपक्षले सिर्जना गरेको कुरा भारतीय प्रवुद्धवर्गको नेतृत्व गरिरहेका वर्माज्यूलाई जानकारी गराउन चाहन्छु । जुन दिन नेपालको संविधान जारी भइरहेको थियो त्यो दिन पनि राज्यपक्ष मधेशी जनताको छातीमा गोली हानेर लाशको चाङ्गलाई कुल्चेर खुशीयाली मनाएको छ । पत्रकारज्यू, देशको आधा जनसंख्या खुशीयाली मनाइरहेका थिए भने आधा जनसंख्या शोकमा डुबेका थिए । त्यो दिन मधेशले कालो दिन मनायो । मधेशका पत्रिकाहरुमा कालो पोतियो, एफएमहरुमा शोकधुन बजाइयो, विपन्न वस्तीहरुमा समेत डिबियासम्म बालिएन ।

महोदय, नेपाल यदी सम्पूर्ण नेपालीको साझा घर हो भने मधेश रोएको बेला पहाडले आँसु पुछेर सम्वेदना देखाउनुपर्नेथियो नि । त्यसैगरी पहाड रोएको बेला मधेशले पनि आँशु पुछ्नु पर्दछ । यदी मधेशको आधा जनसंख्याको रुवाई तथा शोकमा पहाडले खुशी मनाउँछन् भने यस्तो दुर्भाग्यपूर्ण परिस्थितिले गर्दा मधेशी समुदायको चित्त दुख्नु स्वाभाविक हो ।  तपाईकै भारतमा यस्तो घटना भएको भए शायद राष्ट्रिय नेताहरुले कमसेकम समवेदना त पक्कै व्यक्त गर्नुहुन्थ्यो । नेताहरुले पीडामा सान्त्वनासम्म त पक्कै व्यक्त गर्नुहुन्थ्यो तर यहाँ त झन् मुटु नै चर्किने गरी अभिव्यक्तिहरु दिएर पहाड र मधेशको दुरी बढाउने काम भइरहेको छ ।

मधेशमा जारी आन्दोलनका कारण बढ्दो असुरक्षाले भारतबाट मालसामान सहज रुपमा नेपाल भित्रिन सकेको छैन । त्यसमा पनि आन्दोलनलाई नाकाहरुमा केन्द्रित गरेपछि अवरोध सिर्जना भएको छ । यहाँ दुरदर्शी पत्रकार हुनुहुन्छ भने यहाँले दश दिनको काठमाण्डौको अभावले निक्कै चिन्तित तुल्याएको छ । तर सात सातादेखि सिङ्गो मधेश पूर्ण रुपमा ठप्प छन् । कसरी बाँचेका होलान मधेशी जनता ?, कसरी हातमुख जोरेका होलान्, दैनिक मजदुरी गरेर खानेहरुले ? करिब दुई महिनादेखि बालबालिकाहरुले स्कूल जान पाएको छैन । सरकारी कार्यालयहरु बन्द छन्, वित्तीय कारोबार, राजश्व असुली, उद्योगधन्दा, कलकारखाना सम्पूर्ण ठप्प छ । औषधीको समेत अभाव छ । अस्पतालहरुमा अक्सिजन सकिएको छ । यसतर्फ तपाईको ध्यान पुग्न सकेन । नेपाली मिडियाहरुले समेत वर्तमान आन्दोलनलाई महत्वहिन भन्दै विजय जुलुस र उत्सवमै रमिरहे ।

तपाईकै शब्दमा भारत सरकारले आन्तरिक मामिलामा हस्तक्षेप गरेको देख्नुभो । तर यस्तो अवस्था सिर्जना किन भएको हो ? तपाईका आँखाले किन देखेन र तपाईका कलमले किन लेखेन । आफ्नै देशलाई विस्तारवादी भनेर परिभाषित गर्ने वरिष्ठ पत्रकार ज्यू, दुरबीनबाटै नहेरिदिनुस न, एकपटक मधेश आएर आफ्नै आँखाले हेरिदिनुस् हामी मधेशी जनताको तर्फबाट आग्रह छ । यति लामो समयसम्म मधेश किन आन्दोलित छ ? यसको पनि निकास तत्काल खोजिनुपर्छ भनेर तपाईले एकशब्द पनि बोल्नुभएको छैन । नेपालको आन्तरिक मामिला यदी यहाँका नेता तथा राज्यपक्षले समाधान गरिहाल्छन् भने समस्या त आफै समाधान भइहाल्छन् नि ? यदी मधेश आन्दोलनको माग सम्बोधन भएर आन्दोलन फिर्ता भएपछि पनि भारतले नेपालमा गाडीहरु आउन रोक लगाउँछन् भने काठमाण्डौवासीको आवश्यकता पर्दैन वरिष्ठ पत्रकारज्यू । हामी मधेशी जनता त सीमामा बिना वर्दीकै प्रहरी भएर खबरदारी गर्दैआएका छौं । आवश्यकता प¥यो भने हामी मधेशी जनता काफी छौं । हामी हिजो पनि बलिदानी दिएका छौं र आज पनि तयार छौं ।

हामी मधेशीहरुको छालाको रङ्ग कालो छ । तपाईको छाला पनि कालै छ । तपाईलाई पनि राम्रोसँग नेपाली बोल्न आउँदैन । केही पढेलेखेका बाहेक हामी मधेशी समुदायलाई राम्रोसँग नेपाली बोल्न आउँदैन । थारु, मैथिली, भोजपुरी, अवधी आदीको ठर्रा शब्द र टोन स्वतः मिसिहाल्छन् । तपाईलाई पनि यही समस्या पक्कै होला । वरिष्ठ पत्रकारज्यू । हामीलाई त पहाडे दाजुभाइहरुले काठमाण्डौ लगायतका ठाउँहरुमा बिहारी, इण्डियन, भैया, मर्सिया, धोती आदि भनेर विभुषित गर्ने गरेको कुरा यहाँलाई कतिको थाहा छ ? छैन भने जानकारी राख्दा हुन्छ । किनभने नेपालका वरिष्ठ कम्युनिष्ठ नेताहरुको बोलाहटमा यहाँ त पटक–पटक काठमाण्डौ आउजाउ गरिराख्नुहुन्छ । सावधान रहनुहोला, नेपालका मधेशी समुदायसँग गरिने व्यवहारको सिकार तपाई पनि बन्नुहुन्छ ।

मधेशी समुदायले आफ्नै देशको नागरिकता पाउन निक्कै संघर्ष गर्नुपरेको छ । नेपाली हो कि होइन भनेर हाम्रो अनुहार हेरेरै शंका गरिन्छ र सर्जमिन मुचुल्का वा प्रमाणित गराउनुपर्ने बाध्यता छ । गर्मी ठाउँका वासिन्दा भएका कारण धोती, लुङ्गी, बँहुवावाला गञ्जी र गम्छा लगाउने गरिएका कारण पोशाक देखेर पनि हेपिदैआएका छौं । महोदय, राष्ट्रियताको प्रश्न मधेशी समुदायमाथि व्यापक रुपमा राष्ट्रवादी कहलाउने नेताहरुले उठाउने गरेका छ । सिमाको रक्षा हामीले गर्दैआएका छौं । पहाडी समुदायले आएर गरेको होइन । नेपाली टोपी लगाएर नागरिकता पनि लिएकै छौं । नेपालीमा जे–जे पढाईदै आएको छ, हामीले त पढ्दैआएका छौं । पहाडी संस्कृति तथा इतिहास मात्रै पढाइयो त्यो पनि पढ्दैआएका छौं । अटकन मटकन दहिया चटकनको ठाउँमा टालाटुली बाटुली कति राम्री पुतली… पनि पढेकै हौं नेपाली भाषामै बोल्नुपर्छ त्यो पनि भ्याएसम्म मातृभाषाहरुकै टोनमा किन नहोस् प्रयास गरेर नेपाली पनि बोलेकै छौं ।

नेपालमा खेतीपाती हुने भूभाग मधेश नै हो । असली किसान मधेशीहरु नै हुन् तर सिक्कामा पनि टोपी र दाउरा शुरुवालको पहिचान देखाउँदा पनि हामी चुप लागेकै छौं । मधेशका साहित्य, कला, संस्कृति, परम्पराको चर्चा पाठ्यपुस्तकमा कतै पढ्न पाइएन । तै पनि पढेकै छौं । पाठ्यपुस्तकमा पनि समावेश गरिएका चित्रहरुमा हाम्रो प्रतिनिधित्व कतै देखिएन । पहाडको कथा–व्यथा धेरै लेख्न भ्याएका छन् नेपाली साहित्यकार महोदयहरुले । तर मधेशका बुधना, हरिया, मङ्गली, मुनियाँ आदिले भोग्दैआएको शीतलहर, बाढी, गर्मी र आगलागीको पीडालाई वहाँहरुको कलमले पनि लेखेनन् । मधेशी चेहरा भएका साहित्यकार वा नेताहरुलाई पहाडले स्वीकार नगरे पनि मधेशले त वहाँहरुको शालिक पनि मधेशमा ठड्याएर स्मृति दिवस, जन्मजयन्ति आदि मनाउँदै आएका छन् । मिडियाहरुमा पनि मधेशको कला, साहित्य, संस्कृति, पर्यटन आदिलाई महत्व नदिँदा पनि हामीले त सहेकै हौं । महोदय, पहाडमा चुनाव हारेका पहाडी नेताहरुलाई मतदान गरेर जिताउँदैआएका पनि छौं । मधेशी नेताका चेहराहरुमाथि विश्वास नगरी अहिलेसम्म पहाडे अनुहारमाथि भरोसा गर्दैआयौं ।

कुल राजश्वको करिब ७० प्रतिशत बुझाउने मधेशले हिलो र धुलो खेप्दैआएकै छ । महोदय, करिब आधा जनसंख्यामा रहेका हामी मधेशीलाई नेपाली सेनामा निशेध गर्दा चुपचाप सहीरह्यो । प्रहरीमा पनि समावेशी देखाउन केही कालो अनुहारलाई लिँदा सन्तोष गरिरह्यो । खेती गर्न किसानले मल माग्दा पनि गोली खाइरह्यौं । कमैया, कम्लरी, दास र हरुवा–चरुवा बनाउँदा पनि हामी जोतिइरह्यौं, खिईरह्यौ । राणा तथा पञ्चायत विरोधी आन्दोलन, जनयुद्धलगायतका आन्दोलनहरुमा पहाडी नेताहरुलाई वर्षौसम्म घरमा राखेर संरक्षण दिएकै हौं । ती आन्दोलनहरुमा काला चेहराहरुले बलिदानी दिईरह्यो तर संविधानमा आफ्ना हक अधिकारका कुरा गर्दा हामी कसरी विदेशी वा भारतीय भयौं । तपाई त भारतीय वरिष्ठ पत्रकार हुनुहुन्छ, के हामी मधेशी भारतीय हौं ? तपाई नै भन्दिनुस् न ।

हामी के मागेको हौं र ? हामी सदियौंदेखि बस्दैआएको मधेश प्रदेश नै मागेका छौं नि । पहाड त मागेका छैनौ । आम नेपाली नागरिक सरह हामीले पनि आफ्नो स्वाभिमान, पहिचान र स्वातता मागेका हौं । हरेक निकाय तथा अङ्गमा जनसंख्याको आधारमा सहभागिता र पहुँच मागेका हौं । के यो माग गलत हो ? पत्रकार तथा प्रवुद्धवर्गज्यूहरु, हामीले त पहाडी समुदाय मधेशमा नबसोस् भन्ने कुरा सोचेका पनि छैनौं । वर्षौंदेखि मधेशको भूमीमा बस्दैआएका पहाडीमूलका वासिन्दा र हामी एउटा रोटी दुई टुक्रा बनाएर बाँडेर खाँदैआएका छौं । अझैं पनि खान्छौं । त्यसैले होला मधेशमा जारी आन्दोलनमा मधेशी र पहाडीसँगसँगै सडकमा ओर्लेका छन् । महोदय, हामी मधेशीको छाला कालो छ तर मन कालो छैन ।

तपाईसहित सम्पूर्ण प्रवुद्धवर्गलाई हामी मधेशी समुदायको तर्फबाट बिन्ती छ, दुरबीन ठिक पारेर मधेशतिर फर्काएर हेरिदिनुस् न । तपाई भन्नुहुन्छ मधेशबाट निर्वाचित सभासद्हरुले संविधानमा हस्ताक्षर गरेको छ । मधेशबाट पुष्पकमल दाहाल, माधवकुमार नेपाल, कृष्ण प्रसाद सिटौला, केपी शर्मा ओली लगायतका कैयौं शिर्षस्थ नेताहरुलाई आफ्नै छाती र टाउँकामा गोली हानेर मार्न पठाएका होइनन् नि । हाम्रा पनि हक अधिकार संविधानमा सुरक्षित गराउनकै लागि पठाएका हौं । तर यता मत दिने जनताहरु मारिदै थिए भने उता मधेशी जनताको लाशलाई कुल्चेर संविधानमा हस्ताक्षर गरी उनीहरुले खुशीयाली मनाईरहेका थिए । अहिले सडकमा ओर्लिएकाहरु लाखौं जनसमुदाय जनता हुन् होइनन्, एकपटक दुरबीन ठिक पारेर हेर्दा हुन्छ ।

महोदय, आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि निकास खोज्नका लागि राज्यपक्ष गम्भीर बन्नु जरुरी छ । विगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गरेर देशलाई निकास दिनु आवश्यक छ । आफ्नो देशको समस्यालाई समाधान गर्नका लागि अग्रसर नदेखाई भारतलाई गाली गर्नु भनेको मुर्खता मात्र हो । आफूलाई ठूला राष्ट्रवादी भनाउनेहरुले नाराबाजी गरेर, जुलुस निकालेर, पुतला दहन गरेर, भारतलाई गाली गरेर समस्याको समाधान हुँदैन । भारतलाई गाली गरेर ठूला आदर्शवादी कुरा गर्नेहरुसँग हाम्रो विनम्र आग्रह छ मधेशमा जारी आन्दोलनको माग सम्बोधन गर्न दवाव दिनुप¥यो । मधेशलाई गरिँदैआएको बेवास्ताले गर्दा सम्बन्ध नजिक ल्याउनुभन्दा पनि दुरी बढाउने काम भइरहेकोले यसतर्फ गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । घरको समस्या घरमै समाधान नभएपछि कुरा बाहिर जानु स्वाभाविक हो । यतिबेला नेपालमा पनि यस्तै भएको छ मधेशको क्रन्दन र चित्कार छिमेकीको कानसम्म पुग्नु र कुशल छिमेकीको नाताले तपाई आफ्नो घरलाई शान्त पार्नुस् भन्नु स्वाभाविक हो ।

आदरणीय प्रवुद्धवर्गहरु तपाईहरुका आँखाले सत्यतथ्य देख्नुप¥यो । यदी भारतले आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न भन्दा तपाईहरुले आफ्नै देशलाई हस्तक्षेपकारी देख्नुभो, विभेदकारी देख्नुभो । तर भारतीय पत्रकारलाई नेपाल प्रवेशमा रोक लगाएको, हिन्दी न्यूज च्यानलहरु तथा हिन्दी सिनेमाहरुमा प्रतिवन्ध लगाउँदा पनि तपाईलाई ठिकै जस्तो लागेकोले शायद यो विषयमा बोल्नुभएन होला ।

अन्त्यमा, यहाँसहित सम्पूर्ण वुद्धिजिवीवर्गलाई मधेशी समुदायको तर्फबाट आग्रह छ कि वास्तविकता बुझेर मात्र यहाँले धारणा राख्नुहोला । कुशल छिमेकीको नाताले दुखेको घाउमा सुइरो घोप्ने कार्य नगरिदिन अनुरोध छ । नेपालको भनेको काठमाण्डौ मात्र होइन, भन्ने वास्तविकता बुझेर अन्य प्रवुद्धवर्गलाई जानकारी गराउन आग्रह छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer