• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आन्दोलनमा सहयोग पुर्याउनेलाई फोरमद्वारा धन्यवाद

राजविराज, १४ असोज । संविधान सभालाई तीन दलका केही नेताहरुले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि मात्र उपयोग गरी मधेशी, आदिवासी जनजाती, दलित, थारु, मुस्लिम, पिछडावर्ग लगायतका समुदायहरुको अधिकार, पहिचान र समावेशीतावाट वञ्चित पारी नेपालको संविधान २०७२ जारी गरेको संघीय समाजवादी फोरम नेपाल सप्तरीले ठहर गरेको छ ।

संविधानले मधेश आन्दोलनका दौरान भएको २२ वुँदे र ८ वुँदे सम्झौता, आदिवासी जनजाती, थारुलगायतसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र विगतको संविधान सभामा भएको सहमति समेतलाई उल्लंघन गरी प्राप्त अधिकारलाई समेत खोसेको फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवद्वारा विहीवार जारी विज्ञप्तिमा उल्लेख छ । संविधानले मुलुकलाई प्रतिगमनतर्फ धकेल्दै संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीता तथा धर्मनिरपेक्षतालाई नै धरापमा पारेको भन्दै विज्ञप्तिमा भनिएको छ । विगतमा भएका सम्झौता र सहमतिका आधारमा संविधान निर्माण गराउन जारी रहेको शान्तिपूर्ण एवं अहिंसात्मक मधेश आन्दोलनको क्रममा संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले घोषणाले गरेको मेची–महाकाली हुलाकी लोकमार्गमा मानव साङ्लो निर्माण गरी हातेमालो कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएका छन् ।

सप्तरी जिल्लाको विभिन्न कुनाबाट कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण बुद्धिजीवि, ब्यापारी, ब्यवसायी, पत्रकार, मानवअधिकारकर्मी, शिक्षक, कर्मचारी, महिला, बालबालिकालगायत आम जनतालाई धन्यवाद दिंदै भविष्यमा पनि यस्तै सहयोग निरन्तरताको अपेक्षा समेत अध्यक्ष यादवले गरेको छ ।

यसैगरी मधेशी मोर्चाद्वारा आयोजित मेची–महाकाली मानव श्रृंखला (हातेमालो) कार्यक्रममा बिहीबार भव्यतापूर्वक सहभागिता जनाएर आन्दोलनलाई उचाइमा पु¥याउन सहयोग गर्ने सबैलाई मधेशी मोर्चा सप्तरीले हार्दिक अभार तथा कृतज्ञता व्यक्त गरेको छ । जारी मधेश आन्दोलनलाई उक्त कार्यक्रमले थप उर्जा प्रदान गरेको ठहर गर्दै आन्दोलनलाई निर्णायक तह सम्म पु¥याउन निरन्तर सहयोगको अपेक्षा समेत सूचना तथा सञ्चार समिति सप्तरीका संयोजक अमरनाथ मण्डलद्वारा विज्ञप्तिमा उल्लेख छ ।