राजविराज, १४ असोज । सप्तरीको विभिन्न स्थानमा भएको छुट्टा–छुट्टै घटनामा पाँच जनाको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्वर ४ का बिष्णु खंङको तीन वर्षिय आकास खङ्गको पोखरीमा डुबेर मृत्यू भएको छ । यसैगरी सोही ठाउँका दुःखीलाल खङ्गका २ वर्षिय छोरा रामहरि खङ्ग घरबाट सय मिटर पर त्रियुगा नदिमा खेल्ने क्रममा डुबेर घाइते भएका छन् । घाईते भएका दुबैलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियामा लगिएकोमा आकासको उपचारको क्रममा मृत्यु भएको तथा रामहरिलाई थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यस्तै असोज ८ गते हराइरहेका सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर– ६ का ३५ वर्षिय सन्तलाल चौधरीको शव विहिवार फेला परेको छ । उनी घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतमा धान रुग्न गएका थिए । सोही दिनदेखि बेपत्ता भएका चौधरीको शव त्रियुगा नदिको किनारमा सडे–गलेको अवस्थामा फेला परेकोे प्रहरीले जनाइएको छ ।
यसैगरी सप्तरीको नर्घो गाविस वडा नम्वर–२ का पानालाल यादवकी २१ वर्षिया छोरी रेणु कुमारी यादव माइती घरको दलिनमा सलको पासो लगाएर आत्महत्या गरेकी छिन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सप्तरीको मधुपट्टी–६ स्थित कदमाहा गाईघाट सडक खण्डमा ५० वर्षिय असर्फि पासवानको साईकलबाट लडेर सोही स्थानमा नै मृत्यु भएको छ । शवलाई पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पताल लगिएको छ ।
यस्तै सप्तरीको पकरी गाविस वडा नम्वर–२ का श्यामकुमार सरदारकी ४० वर्षिय कमली देवी यादवले घरदेखि ५० मिटरको दुरीमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृत्युको कारण घरायसी विवाद भएको भन्ने बुझिएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन् ।