राजविराज, १४ असोज । स्वायत मधेशसहितको माग राख्दै जारी आन्दोलनलाई निरन्तरता दिने क्रममा विहीवार पनि राजविराजमा विरोधसभाको आयोजना गरिएको छ ।
राजविराज स्थित सहीद दशन चौकमा आयोजित सभामा बोल्दै वक्ताहरुले माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । ग्रामिण भेगबाट आएका सर्वसाधारण जनतासमेतको सहभागितामा आयोजित उक्त सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य चित्तनारायण यादवले तीन दलले मधेशी जनताको माग सम्वोधन गर्न नचाहेकोले वार्ताको नाममा नौटंकी गरिरहेको बताएका छन् । मधेश आन्दोलित रहेको अवस्थामा मागहरु सम्बोधन गर्नुपर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नुका साथै भारतको झण्डा जलाएर वर्तमान सरकारले ठूलो भूल गरिरहेको बताए । नाकाहरुमा आन्दोलन केन्द्रित भएपछि काठमाण्डौमा अभाव शुरु भएको भन्दै यो आन्दोलनलाइ निरन्तता दिएर शासकवर्गलाई घुँडा टेकाउने उनले चेतावनी दिए ।
सभामा मधेशी मोर्चा सप्तरीका सचिवालय सदस्य रामगमन साह, मधेश रक्षावाहिनीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, युवा नेता हुलसित यादव, सुमन ठाकुर, फोरम गणतान्त्रिकका तेजनारायण यादव, बैद्यनाथ यादव ‘बैजु’, रामकिसुन यादव, मलेठ, भोगेन्द्र मण्डल, युवा नेता तेजनारायण मण्डल, पञ्चदेव यादव, महिनारायण यादव, मो. बिकन लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका छन् ।