काठमाडौं: नाकाबन्दी एवं लामो यातायात बन्दले तराईबाट रिफर गरिएका बिरामी उपचारका लागि आउन नपाउँदा राजधानीका केन्द्रीय अस्पतालमा बिरामीको चाप घटेको छ। ६० प्रतिशतभन्दा धेरै बिरामी जिल्लाबाट रिफर भएर आउने गरेका राजधानीका केन्द्रीय अस्पतालमा पछिल्लो डेड महिनामा बिरामीको संख्या घटेको हो।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मेडिकल रेकर्डर कुमार केसीले तराई बन्द, भारतीय नाकाबन्दी, जोरबिजोर प्रणालीलगायतका कारणले तराईका विभिन्न अस्पतालबाट रिफर गरिएका बिरामी राजधानी आउन नपाएको बताए।’हाम्रोमा आउने बिरामी अधिकांश बाहिरकै हुन्छन्। अहिलेको खराब अवस्थामा उनीहरू आउन सकेका छैनन्’, केसीले भने, ‘शल्यक्रियाको समय लिएका बिरामीसमेत आएका छैनन्।’
गत वर्ष भदौ १० देखि असोज १० सम्म अस्पतालको ओपीडीमा ४५ हजार तीन सय ४३ जनाले परीक्षण गराएका थिए। अहिले यो संख्या ४० हजारमा झरेको छ। अस्पतालको आकस्मिक विभागमा ६ हजार दुई सय ४८ जना आएकोमा अहिले पाँच हजार दुई सय ६२ जना आएका छन् । अस्पतालको विस्तारित सेवा लिने र भर्ना हुने बिरामीको संख्या घटेको छ।
‘भूकम्पयता बिरामी बढेका थिए । तर यातायातमा सहजता नहुँदा पछिल्लो एक महिनामा टाढा र विशेष गरी तराई क्षेत्रका बिरामी आएका छैनन्’, अस्पतालका निर्देशक डा. दीपक महराले भने, ‘बिरामी घरमा थला परिरहेकोमा भन्ने चिन्ता छ।’ अस्पतालको मानसिक विभागका प्रमुख डा. सरोज ओझाले बन्दले आफूहरू फलोअफमा आउन नपाएको भन्दै तराई क्षेत्रका बिरामीले फोन गरिरहेको बताए।
बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रका वरिष्ठ प्रशासकीय अधिकृत दीपेन्द्र पोखरेलले पछिल्लो एक महिनामा केन्द्रमा उपचार गराउन आउने बिरामीको संख्या घटेको बताए। उनका अनुसार भदौ १० देखि असोज १० सम्म ओपीडीमा आठ हजार चार सय २५ जनाले मात्र उपचार गराएका छन् जब कि साउन १० देखि भदौ १० सम्म ९ हजार ८ सय ५० जनाले जँचाएका थिए।
वीर, प्रसूति, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पछिल्लो एक महिनामा रिफर गरिएका बिरामी निकै कम आएका छन् । पाटन अस्पतालका निर्देशक डा. पवन शर्माले बन्दले काठमाडौं उपत्यका बिरामीलाई खासै असर नपारे पनि उपत्यकाबाहिरबाट उपचारका लागि आउने बिरामीलाई असर गरेको बताए।
निर्देशक शर्माले भने, ‘बन्दका कारण उपचारमा ढिलाइ हुँदा जनकपुरकी एक महिला पाठेघर नै फुटेको अवस्था यहाँ आइपुगेकी थिइन् । उनी बाँचे पनि उनको बच्चालाई बचाउन सकिएन।’ उपचारका लागि आएका कतिपय बिरामी तराई बन्दले राजधानीमै अलपत्रसमेत परेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हेपाटाइटिसको उपचार गराइरहेका विराटनगरका लक्ष्मण यादवले घर जाने वातावरण नभएकाले काठमाडौंमै बस्न बाध्य भएको बताए।
औषधि सिद्धिन थालेको भन्दै ध्यानाकर्षण
काठमाडौंट: राष्ट्रिय मानवअधिकार आयोगले बन्दहडतालका कारण औषधिलगायत अत्यावश्यक वस्तुको अभाव हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले गृह मन्त्रालयका सचिव सूर्य सिलवाल, वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद्र उपाध्याय र परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुनकान्त मैनालीलाई डाकेर ध्यानाकर्षण गराएको हो।
‘लामो समयदेखि आपूर्ति व्यवस्था प्रभावकारी हुन नसक्दा अस्पतालमा अत्यावश्यक औषधिलगायत वस्तुको अभाव हुन लागेकोतर्फ सचिवलाई ध्यानाकर्षण गराइएको छ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।अन्पूर्ण पोष्ट