तराईमामा जारी बन्द र नेपालमा अधिकांशले भन्ने गरेको भारतको अघोषित नाकाबन्दीका कारण उक्त क्षेत्रका उद्योगहरुको स्थिति नाजुक भएको उद्योगीहरुले बताएका छन्।
मुलुकका धेरैजसो ठूला उद्योगहरु रहेको तराई क्षेत्रका उद्योगहरु डेढ महिनायता सञ्चालन हुन सकेका छैनन्, जसका कारण दैनिक करिब सवा दुई अर्ब रुपैया नोक्सानी बेहोर्नु परेको बताइन्छ।
तराई केन्द्रित दलहरुले आह्वान गरेको बन्दका कारण नेपालका मुख्य उद्योगहरु रहेको भैरहवा, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज र धनगढी लगायत शहरका दुई हजारभन्दा बढी उद्योगहरु बन्द ठप्प छन्।
उद्योगीहरुका अनुसार बन्दका कारण धेरैजसो उद्योगहरुले आफ्ना कर्मचारी र मजदुरहरुलाई विदा पनि दिइसकेका छन्।
उत्पादन
लुम्बिनी रोडमा सञ्चालित जगदम्बा सिमेण्टका महाप्रबन्धक विदुर ढुंगानाले भने, “आजभोलिमा त खुलिहाल्छ भनी पर्खेर बस्दा-बस्दै हामीले सबै कर्मचारीलाई राख्यौं तर अब खुल्ने कुनै छाट नदेखेपछि उनीहरुलाई विदामा पठाइदियौँ।”
बन्दका कारण कच्चा पदार्थ आउन सकिरहेको छैन भने उत्पादित तयारी सामान पनि अन्यत्र पुर्याउन नसकिरहेको अवस्था देखिएको छ।
पछिल्लो केही दिनयता नेपालमा धेरैले भन्ने गरेको भारतीय अघोषित नाकाबन्दीका कारण कच्चा पदार्थ समेत आउन नसकेपछि बन्दको प्रभाव नपरेका स्थानमा फाट्टफुट्ट चलिरहेका उद्योगहरु पनि बन्द भएको व्यापारीहरुले बताएका छन्।
बुटवलका एक उद्योगी शतिशचन्द्र कषौधन भन्छन्, “न मालसामान आउन सकेको छ, न तयारी सामान पठाउन सकिएको छ, तलब, ज्याला र ब्याज भुक्तान गर्न सकिएको छैन्, भर्खर आएको संविधानको स्वागत गर्न लागिएको बेलामा यस्तो बन्द बेहोर्नु पर्दा हामी आजित भएका छौँ।”
असुरक्षा
न मालसामान आउन सकेको छ, न तयारी सामान पठाउन सकिएको छ, तलब, ज्याला र ब्याज भुक्तान गर्न सकिएको छैन्
लगातारको बन्दले अहिले सञ्चालित उद्योगहरुलाई परेको असर आफ्नो ठाउँमा छ, यसबाहेक आगामी दिनमा लगानी गर्न चाहनेहरुलाई पनि सधैँ असुरक्षाको डर देखिने गरेको छ, जसका कारण लगानी नै पलायन हुने संकेत देखिएको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका बताउँछन्।
उनले भने, “व्यवसायीहरुको मनमा के लागेको छ भने यति लामो बन्द भइसक्दा पनि सरकारले कुनै अग्रसरता देखाएर नाका खुलाउनतिर लाग्दैन भने भोलि हामीले नयाँ नयाँ उद्योग खोल्दा सरकारबाट सुरक्षा दिने काम हुन्छ कि हुँदैन।”
भुकम्पपछि बिस्तारै तंग्रिन लागेकै बेला शुरु भएको यो बन्दले उद्योग क्षेत्रलाई करिब तीन वर्ष पछाडि धकेलिसकेको सरोकारहरुको अनुमान छ।बिबिसि नेपाली