राम नारायण पंडित
सिरहा, १५ भदौ । सिरहाको मिर्चैया स्थित आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन भईरहेको छ ।
विभिन्न बहाना देखाएर औषधालयका प्रमुख कविराज राकेश कुमार यादव नियमित उपस्थित नभएपछि कार्यालय सहयोगीकै भरमा जेनतेन काम चलाउँदै आएको हो । प्रमुख यादव प्रत्येक महिनाको अत्यतिर आएर महिना भरीको हाजिरी गरेर तलब खाने गरेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।
स्थानियका अनुसार प्रमुख यादव महिनामा १० दिन पनि कार्यालयमा उपस्थित नहुने गरेको भन्दै स्थानीयवासिन्दाले गुनासो गरेका छन् । कविराजलाई नियमित रुपमा कार्यालयमा उपस्थित हुन अनुरोध गर्दा वास्ता नगरेको स्थानीयको गुनासो छ । स्थानीयले जिल्ला आयुर्वेद औषधालयमा खवर गरेपनि कुनै सुनवाई नभएको उनीहरुको दुखेसो छ ।
औषधालयमा बैध नियमित रुपमा उपस्थित नहुने गरेकोले आफुले बाध्यताबश विरामीहरुलाई उपचार गर्ने गरेको कार्यालय सहयोगी रामकुमार यादवले बताए । आफूले सामान्य ग्याष्ट्रिक, कव्जियत, प्रेसर जस्ता समस्याको औषधी दिने गरेको उनले बताए । पहिला वेला वेलामा आउने गरेको भएपनि पछिल्लो समय प्रमुखको गाउँमा घर बनिरहेकोले कम आउन थालेको कार्यालय साहयोगी यादवले जानकारी दिए ।
जिल्ला आयुर्वेद औषधालय, सिरहाका प्रमुख वरिष्ठ कविराज नरेन्द्र प्रसाद पटेलले आफूसँग स्थानीयको गुनासो आएपछि आफूले पटक–पटक नियमित रुपमा उपस्थित हुन निर्देशन दिएपनि उनले नटेरेको निरिहता प्रकट गरे । प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले आफूलाई यो विषयमा अहिलेसम्म जानकारी नभएको भन्दै अव सम्वन्धित कार्यालय मार्फत तुरुन्त स्पष्टिकरण सोध्ने प्रतिवद्धता व्यक्त गरे । रौतहट मदनपुर ४ घर भएका यादव गाउँमा घर वनिरहेकोले कार्यालयमा नियमित उपस्थित हुन नसकेको फोनमा स्वीकार गरे ।