राजविराज, १३ भदौ । ‘हम किसी से कम नही’ मूल नाराका साथ यस वर्ष पनि मधेश प्रिमियर लिग (एमपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता कार्तिक २ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोजक मधेशी इन्जिनियर स्टुडेन्ट यूनियनद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ईन्जिनियर सञ्जीव नारायण यादवले जानकारी गराएका हुन् । आगामी कात्तिक २ गतेदेखि सञ्चालन हुन लागेको एमपिएलको दोस्रो संस्करण राजविराज र जनकपुर गरी मधेशका दुई शहरमा आयोजना गरिने जनाईएको छ । प्रतियोगिताको शुभारम्भ जनकपुरबाट तथा समापन अर्थात फाइनल खेल राजविराजमा हुने अध्यक्ष यादवले बताए ।
एमपिएल टुर्नामेन्ट प्रतियोगितामा मधेशका सप्तरी, सिरहा, महोत्तरी, धनुषा, मोरङ्ग, सुनसरी, नवलपरासी, सर्लाही लगायतका जिल्लाहरुबाट चर्चित टिमहरुको सहभागिता रहने सचिव तीर्थनारायण दासले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख एक हजार, उप विजेता टिमलाई रु ५१ हजार, म्यान अफ द सिरिजलाई एलइडी टेलिभिजन, बेस्ट बलर र व्याटसम्यानलाई साइकल प्रदान गरिने एमपिएल बाेर्डका सचिव इन्जिनियर अमित पाठकले बताए ।
मधेशमा खेलाडि उत्पादन तथा व्यवसायिक खेलाडि तयार गर्ने र अन्तर्राष्ट्रिय जगतमा मधेश टिमबाट सहभागी गराईने लक्ष्य रहेको सचिव दासले जानकारी दिए । एमपिएलको पहिलो संस्करण राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी, क्रिकेटर पवन दास, युवा नेता पार्थो सरकार, मेसुका उपाध्यक्ष भुपेन्द्र मिश्रा, कोषाध्यक्ष राहुल देव, एमपिएल बोर्डका कोषाध्यक्ष अखिलेश देव, ई. आलोक यादवलगायतको उपस्थिति थियो ।