• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी विधुत प्राधिकरणको बक्यौता साढे चौबीस करोडः बक्यौता असुल्न लाइन काट्ने अभियान

सप्तरी विधुत प्राधिकरणको बक्यौता साढे चौबीस करोडः बक्यौता असुल्न लाइन काट्ने अभियान

राजविराज १२ भदौ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले बक्यौता रकम असुली गर्न ग्राहकको लाइन काट्ने कार्यलाई तिब्रता दिएको छ ।
वर्षौदेखि विद्युत सेवा उपभोग गरेवापतको महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने कार्यलाई तिब्रता दिईएको हो । प्राधिकरणले वर्षौंदेखि महशुल नतिर्ने एक लाख भन्दा बढी बक्यौता रहेका ग्राहकहरुको सूची तयार गरी क्रमशः लाइन काट्ने कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाईएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख राम उद्गार साहले जानकारी दिएका छन् ।
अभियानका क्रममा हालसम्म ५५ जनाको लाइन काटिएपछि बक्यौता रकम ७ लाख २६ हजार ४ सय रुपैयाँ असुली गरिएको उनले बताए । उनका अनुसार सप्तरी जिल्लामा कुल ५२ हजार ग्राहक रहेकोमा २४ करोड ४७ लाख रुपैयाँ बक्यौता रहेको छ ।
ग्राहस्थमा मात्र १३ करोड १२ लाख, औद्योगिकतर्फ २ करोड २३ लाख, सरकारी कार्यालयतर्फ १ करोड २२ लाख र सडक बत्ती प्रयोजनमा ५ करोड ६७ लाख रुपैयाँ बक्यौता रहेको वितरण केन्द्र प्रमुख साहले जानकारी दिए । बक्यौता रकम असुली गर्नु आफुहरुकालागि ठूलो चुनौती रहेको बताउँदै उनले भने ‘हामीले बक्यौती असुली अभियानलाई प्राथमिकताकासाथ अगाडि बढाएका छौं, यसै अभियान अन्तर्गत बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेका हौं ।’
अत्यधिक बक्यौता राख्ने सरकारी कार्यालयहरुलाई समेत सात दिनभित्र बक्यौता विद्युत महशुल बुझाउन पत्राचार गरिसकेको उनले बताए । सात दिनभित्र पनि बक्यौता नबुझाउने कार्यालयको लाइन समेत काटिने जानकारी दिँदै उनले भने ‘बक्यौता बुझाउन हामीले पटक पटक ग्राहक महानुभावलाई आग्रह गर्दा पनि बेवास्ता गरिएपछि बाध्य भएर लाइन काट्न थालेका हौं ।
बक्यौता असुली गर्न विद्युत सेवा काटिने अभियानसँगै विद्युत चोरी नियन्त्रण कार्य अगाडि बढाईएको उनले बताए । बक्यौता असुली अभियानमा साथ दिन वितरण केन्द्र प्रमुख साहले ग्राहकहरुसँग आग्रह गरेका छन् ।
अत्यधिक विद्युत चुहावट एवम् बक्यौता राख्ने जिल्लाहरुमा सप्तरी अग्र स्थानमा रहेको छ ।