राजविराज, ८ भदौ । प्रसव व्यथाले छटपटाइरहेकी सप्तरीको गोबरगाढाकी स्वयम्सेविका झुना देवी यादवलाई सप्तरी जिल्ला युवा सम्मेलन मूल समारोह समितिले सहयोग गरेको छ ।
सशस्त्र प्रहरीले गाउँबाट सदरमुकामसम्म ल्याउन सहयोग गरेको छ भने समितिका पदाधिकारीहरुले उनलाई आर्थिक सहयोग गरेका हुन् । प्रसुति व्यथा लागेको दुई दिन बितिसक्दा पनि धेरै नदी तर्नुपरेका कारण उनी स्वास्थ्य संस्थासम्म आउन सकिरहेकी थिइनन् । न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवको विशेष पहल तथा सक्रियतामा झुनालाई उद्धार गरिएको हो ।
उनका पति दुःखी यादव रोजगारीको सिलसिलामा भारतको पंजाबमा रहेको र स्थानीय तहमा बजारसम्म आईपुग्न कुनै साधन नभएपछि उनी छटपटाइरहेकी थिइन् । सशस्त्र प्रहरीको टोलीले उनलाई गोबरगाढादेखि हनुमाननगरसम्म ल्याएका छन् । आर्थिक अभाव रहेका उनलाई सप्तरी जिल्ला युवा सम्मेलनन मूल समारोह समितिले रु पाँच हजार सहयोग उपलब्ध गराएको छ ।
समितिका सदस्यद्धय आयुष श्रेष्ठ र बिष्णु यादवले अस्पताल पुगेरै झुनालाई पाँच हजार एक उपलब्ध गराएको सदस्य मोहन यादवले जानकारी दिएका छन् । हनुमाननगर योगिनीमाई नगरपालिका वडा नम्वर ८ गोबरगाढा निवासी झुनालाई बस्तीको चारैतर्फ कोशी नदी बगिरहेका कारण अस्पतालसम्म पुगेर सुत्केरी गराउन एकदमै समस्या थियो ।