राजविराज, ३२ साउन । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका सांसद अशोक कुमार मण्डल ‘अमर’ले दलगत एवम् गुटगतभन्दा माथि उठेर सामाजिक बेथिति विरुद्ध सशक्त रुपमा कलम चलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रेस सेन्टर नेपाल सप्तरीको एकता भेला तथा जिल्ला अधिवेशनको मङ्गलवार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । पत्रकारिता पेशा निष्पक्ष एवम् मर्यादित हुनुपर्नेमा जोड दिँदै उनले भने ‘पत्रकारहरुमाथि आम जनताको आशा र विश्वास टिकेको छ, त्यसैले दलगत एवम् गुटगतभन्दा माथि उठेर सामाजिक बेथिति विरुद्ध सशक्त रुपमा कलम चलाउनुपर्छ ।’
सामाजिक रुपान्तरणकालागि कलम चलाउने सञ्चारकर्मीहरुको पेशागत सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै सांसद मण्डलले राज्यपक्ष विशेष सुविधा दिनुपर्ने आवश्कता औंल्याए । ‘कलम चलाउने सिपाहीहरु नै दिग्भ्रमित भयो भने समाज र राष्ट्रको विकास नै प्रभावित हुनेछ’ उनले भने ‘पत्रकारहरुले समाजलाई दिशानिर्देश गर्ने कार्यमा चुक्नुहँुदैन ।’ राजनीतिक एवम् समाजिक परिवर्तनहरुमा पत्रकारहरुले निभाएको भूमिकाको चर्चा गर्दै सप्तरीका पत्रकारहरुको जिम्मेवारीपना एवम् निर्भिकता देशकैलागि उदाहरणीय रहेको सांसद मण्डलले बताए ।
प्रेस सेन्टर नेपालका २ नम्वर प्रदेश संयोजक देवराम यादवले राजनीतिक परिवर्तनहरुमा पत्रकारहरुले देखाएको भूमिकाबारे स्मरण गरे । विगतमा देखिएका कमीकमजोरी बिर्सेर एकता सम्मेलनबाट चयन हुने नयाँ समितिले थप उर्जाकासाथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
सेन्टरका जिल्ला अध्यक्ष राजु विश्वकर्माको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा पूर्व सभासद् असर्फी सदा, माओवादी केन्द्र सम्मेलन आयोजक समितिका सदस्य भागवत यादव, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस युनियनका जिल्ला अध्यक्ष ओमप्रकाश साह, प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झालगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन दिनानाथ यादवले गरे ।